काठमाडौं । बजाज पल्सर स्पोर्टस् अवार्ड अन्तर्गतको पिपुल्स च्वाइस अवार्ड विधाका लागि ५ चर्चित खेलाडी मनोनित भएका छन् ।
आयोजक नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आइतबार वर्षका चर्चित ५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।मञ्चका सचिव गोविन्द रेग्मीको संंयोजकत्वमा रहेको खेलाडी छनोट समितिले पाँच खेलाडी चयन गरेका हुन् ।
यस अवार्डका लागि मनोनित हुनेमा क्रिकेटका सन्दीप लामिछाने, भलिबलकी रेश्मा भण्डारी, ब्याटमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी र शारीरीक सुगठनका महेश्वर महर्जन रहेका छन् ।
मनोनयनमा परेका खेलाडीको उत्कृष्टताको छनोट एसएमएम भोटिङ, फेसबुक लाईक, खेलकुद पत्रकार मञ्चका पत्रकारको भोट र राष्ट्रिय संघका मुख्य प्रशिक्षकको भोटको आधारमा गरिनेछ ।
एसएमएस भोटिङ र फेसबुक लाईकको मतभार ५० प्रतिशत रहनेछ । पत्रकारको भोट र संघका मुख्य प्रशिक्षकको मतको भार २५/२५ प्रतिशत रहनेछ ।
खेलाडीलाई भोट गर्न नेपाल टेलिकम र एनसेलका प्रयोगकर्ताले ३७७२२ नम्बरमा म्यासेज गर्न सक्नेछन् । म्यासेज बक्समा गएर पल्सर टाईप गरेर एक स्पेस छाड्ने र खेलाडीको कोड नाम टाईप गरेर ३७७२२ मा पठाउन सकिनेछ ।
विजेताको घोषणा आगामी असार १७ गते आयोजना हुने पल्सर स्पोर्ट्स अवार्डको अवसरमा गरिनेछ ।
सन्दीपलाई भोट गर्न Pulsar <space> SL लेखेर ३७७२२ मा पठाउन सकिनेछ । त्यस्तै, रेश्मालाई भोट गर्नका लागि Pulsar <space> RB लेखेर, प्रिन्सका लागि Pulsar <space> PD लेखेर र सावित्राका लागि Pulsar <space> SB टाइप गरी ३७७२२ मा पठाउन सकिन्छ । यस्तै महेश्वरका लागि Pulsar <space> MM टाइप गरी ३७७२२ मा पठाउन सकिनेछ ।
भोटिङ आज (आइतबार) दिउँसो १२ बजेदेखि असार १६ गते राति १२ बजेसम्म खुल्ला हुनेछ ।
यस्तै कार्यक्रममा मञ्चले टीएचटी लाइभसँग भोटिङको लागि सम्झौता गरेको छ । टीएचटीका भुपेन्द्र लामा र मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी (देवेन्द्र) ले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
मञ्चले प्रत्येक वर्ष विभिन्न विधामा नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याएका खेलाडी प्रशिक्षक र टिमलाई अवार्ड दिँदै आएको छ । यसपटक विभिन्न १० विधामा अवार्ड प्रदान गरिने छन् । यस वर्ष एक नयाँ विधा थप गरिएको छ ।
यस पटक पिपल्स च्वाइस अवार्डसंगै वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पारा एथलिट, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र टिम अफ द इयर गरी ९ विधामा अवार्ड प्रदान गरिने मञ्चले जनाएको छ । यस्तै थप गरिएको विधामा इन्टरनेसनल एसियन स्पोर्ट्स जर्नालिस्ट अवार्ड रहेको छ ।
वर्ष खेलाडी पुरुष र महिला, पिपल्स च्वाइस र प्रशिक्षक गरी चार विधाका विजेताले बजाज पल्सर मोटरसाइकल प्राप्त गर्नेछन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँसहित विभिन्न गिफ्ट ह्याम्पर प्रदान गर्ने आयोजकले जनाएको छ ।