काठमाडौं । चार जिल्ला क्रिकेट संघले जेठको तेस्रो साता भित्र नयाँ नेतृत्वको निर्वाचन गर्ने भएका छन् । अन्तराष्ट्रिय क्रिकेट परिषद आईसीसीले गठन गरेको स्वतन्त्र कमिटिको निर्णय अनुसार चार जिल्लाले नयाँ नेतृत्वको चयन गर्न साधारण सभाको बैठक बोलाएका छन् ।
नयाँ विधान अनुसार निर्वाचन गराउने जिम्मेवारी पाएको स्वतन्त्र कमिटिले २० वटा जिल्ला कमिटिको चुनावलाई बैधता दिदै अन्य १९ जिल्लामा निर्वाचन गराउने निर्णय गरेको थियो ।
सहमती अनुसार कमिटिले १२ जिल्लामा नयाँ विधान अनुसार सदस्य थप गरेर र अन्य ७ जिल्लामा पुरानै सदस्यता अनुसार निर्वाचन गराउने निर्णय गरेको थियो ।
पुरानै सदस्यता अनुसार निर्वाचन गराउने म्यानडेट पाएका चितवन, महोत्तरी, सप्तरी र दाङले साधारण सभाको बैठक डाकेका छन् ।
स्वतन्त्र कमिटिका अनुसार चितवनले जेठ ४ गते, महोत्तरीले जेठ ११ गते, सप्तरीले १५ गते र दाङले जेठ १८ गते साधारण सभाको बैठक मिति सार्वजनीक गरेका छन् ।
कमिटिले पत्र प्राप्त भएको ७ दिन भित्र साधारण सभाको बैठक डाक्ने म्यानडेट सहितको पत्र जिल्ला क्रिकेट संघमा पठाएको थियो ।
स्वतन्त्र कमिटिको पत्र अनुसार साधारण सभाका अघि बढेको दाङ जिल्ला क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाँले बताए ।
‘स्वतन्त्र कमिटिले साधारण सभाको पत्र लेख्यो । निर्देशन पालाना गर्नुपर्ने भयो ।’ उनले खेलपाटीसंग भने, ‘कमिटिले छानविन गरेर मान्यता दिएका सदस्यलाई १५ दिनको सुचना जारी गरेर साधारण सभा बोलाएका छौ ।’
कमिटिले नयाँ सदस्यता सहित चुनाव गराउन पर्सा, मकवानपुर, उदयपुर, तनहु, भक्तपुर, ललितपुर, नुवाकोट, इलाम, स्याङजा, झापा, दार्चुला र डोटीलाइ पत्र पठाएको थियो । यस्तै, महोत्तरी, काठमाडौँ, चितवन, मोरङ, कैलाली, सप्तरी र दाङमा भने पुरानै सदस्यता अनुसार निर्वाचन गर्न भनिएको थियो ।
कमिटिले पुरानै निर्वाचनलाई मान्यता दिएको जिल्लामा सर्लाही, बारा, धनुषा, सिराहा, रौतहट, सुनसरी, नवलपुर, कास्की, पाल्पा, नवलपरासी, कपिलबस्तु, बर्दिया, बाँके, सुर्खेत, रुपन्देही, कन्चनपुर, डडेलधुरा, बझाङ, आछाम र बैतडी रहेका छन् ।
नयाँ सदस्यता सहित निर्वाचन गराउने जिम्मेवारी पाएका जिल्ला संघले पत्र प्राप्त भएको ७ दिनभित्र सदस्य लिन चाहने क्लब र ब्यक्तिलाई निवेदनका लागि सुचना प्रकाशित गर्नुपर्नेछ । र १५ दिनको समय राखेर निवेदनको छानविन गरेर सदस्यताको बिषयमा निर्णय गर्नेछ ।
नयाँ सदस्यता वितरण भएलगत्तै स्वतन्त्र कमिटिले साधारण सभा बोलाउने अधिकार सहितको पत्र जिल्ला संघलाई पुन पठाउनेछ ।
पुरानै सदस्यता अनुसार निर्वाचन गर्ने जिल्लाले भने पत्र प्राप्त भएको ७ दिनभित्र १५ दिनको समयसिमा राखेर साधारण सभा आह्वान गर्नुपर्नेछ । सोही सभाले केन्द्रिय र प्रदेशका लागि प्रतिनिधि चयन गर्नेछ ।