काठमाडौँ । सरकारले क्रिकेटलाई उच्च प्राथमिकतामा राख्दै आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको अधिकांश बुँदामा क्रिकेट समावेश गरिएको छ ।
सरकारले काठमाडौंको मुलपानीमा निर्माणाधिन मुलपानी अन्तराष्ट्रिय क्रिकेट मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने बताएको छ ।
गत बर्ष मुआब्जा विवाद समाधान गरेको सरकारले मैदानलाई दुई बर्ष भित्र सञ्चालनमा ल्याउने नीति अघि सारेको हो ।
यस्तै सरकारले नीजि स्तरबाट सञ्चालन भईरहेका क्रिकेट प्रतियोगिता र पुर्वाधार निर्माणमा सहयोग गर्ने जनाएको छ ।
घरेलु खेलकुदमा अन्तराष्ट्रिय सफलता हासिल गरेको क्रिकेट खेललाई बिशेष प्राथमिकतामा राखेको सरकारले क्रिकेट एकेडेमी बनाउने जस्ता महत्वकांक्षी योजना समेत अघि सारेको छ ।
काठमाडौं उपत्यकामा अत्याधुनिक राष्ट्रिय खेलकुद परिषदको भवन निर्माण गर्न अर्को बर्षभित्र डीपीआर निर्माण गर्ने सरकारको योजना छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले हरेक प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने र स्थानीय तहमा दिर्घकालिन महत्वका खेलग्राम बनाउने बताईन् ।
सरकारले आवश्यक पुर्वाधार निर्माण समयमै सम्पन्न गरेर १३ औ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग यसै बर्ष भित्र सम्पन्न गरिने जनाएको छ ।