बाँके । आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज (बुधबार) हुदैछ । नेपालगञ्ज रंगशालामा एक विशेष कार्यक्रमको आयोजना गरेर प्रतियोगिताको समापनको तयारी गरिएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले वृहत राष्ट्रिय खेलकुदको समापन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यव्यस्तताको कारण देखाउँदै समापन कार्यक्रममा आउन नसक्ने बताएपछि उपराष्ट्रपतिबाट प्रतियोगिता समापन गर्न लागिएको हो ।
२०७३ सालमा पुर्वाञ्चलको विराटनगरमा भएको सातौं राष्ट्रिय खेलकुदको समापन समेत उपराष्ट्रपति पुनले गरेका थिए ।
बैशाख ५ गते औपचारिक उद्घाटन गरिएको प्रतियोगिताको खेलहरु अघिल्लो बर्षको चैत २७ गतेबाटै सुरु भएका थिए ।
प्रतियोगिताको अन्तिम दिन भलिवल, फुटबल, क्रिकेट, सुटिङ र पौडीका खेलहरु हुनेछन् ।
प्रत्येक दुई बर्षमा आयोजना गर्ने लक्ष्य सहित सुरु गरिएको राष्ट्रिय प्रतियोगिता सुरुका तीन संस्करण बाहेक कहिल्यै नियमित हुन सकेको थिए । २०४६ सालको प्रजातन्त्र पुर्नस्थापनापछि पहिलो पटक आठौं राष्ट्रिय खेलकुद नियमित बन्न सकेको हो ।
समापन समारोहमा नवौं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको छ ।
नवौं संस्करणका लागि गण्डक प्रदेश र दुई नम्बर प्रदेशले दाबी गरिरहेका छन् ।
प्रतियोगिता आयोजनाका लागि कर्णाली प्रदेशले समेत राजनीतिक लबिङलाई तिव्र पारेको राखेपका एक बोर्ड सदस्यले खेलपाटीलाई बताए ।