काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन समारोहमा नआउने भएका छन् । कार्य व्यवस्थाको कारण देखाउँदै प्रधानमन्त्री ओली समापन समारोहमा नआउने भएका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट बैशाख ५ गते उद्घाटन गरिएको प्रतियोगिताको समापनमा प्रधानमन्त्रीलाई बेलाउने तयारी थियो ।
राष्ट्रिय खेलकुद परिषद राखेपले प्रधानमन्त्रीलाई निमन्त्रणा दिन खेलकुद मन्त्री जगत विश्वकर्मालाई आग्रह गरेको थियो ।
तर अन्तिम समयमा आएर प्रधानमन्त्रीले कार्यक्रममा आउन नसक्ने बताएका हुन् ।
आठौंको समापन बैशाख ११ गते हुदैछ । सोही दिन राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा निस्कने कार्यक्रम छ । प्रधानमन्त्री कार्यालयले सोही कारण देखाउँदै आठौंको समापनमा प्रधानमन्त्री आउन नसक्ने बताएको थियो ।
प्रधानमन्त्री नआउने भएपछि आठौंको समापन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् । सातौ राष्ट्रिय खेलकुदको समापन समेत उपराष्ट्रपति पुनले गरेका थिए ।
राखेप प्रेस सल्लाहाकार रोहित दाहालले बैशाख ११ गते हुने समापन समारोहको प्रमुख अतिथीको रुपमा उपराष्ट्रपति रहने बताएका छन् ।
सामान्य धार्मिक तथा व्यापारिक प्रायोजनका कार्यक्रमको उद्घाटन गर्न पुग्ने प्रधानमन्त्री ओली राष्ट्रिय गौरवको प्रतियोगिताको समापन समारोहमा उपस्थित नहुनुलाई अर्थ पुर्ण रुपमा लिईएको छ ।