दाङ । प्रदेश नम्बर १ र प्रदेश नम्बर २ ले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटको सेमिफाइनलमा स्थान बनाएका छन् ।
लमहीमा शनिबार भएको खेलमा गण्डकी प्रदेशलाई १० विकेटले हराएर प्रदेश १ सेमिफाइनलमा पुगेको हो । पराजित भएको गण्डकी प्रदेश भने प्रतियोगिताबाट बाहिरीएको छ ।
टस जितेर व्याटिङ गरेको गण्डकी १३ ओभर ३ बलमा अलआउट हुँदै २५ रनमा समेटिएको थियो । गण्डकीका लागि शिला रेग्मीले ६ रन बनाए । गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश १ की सवनम राईले ४ र संगीता राईले ३ विकेट लिईन् ।
गण्डकीले दिएको २६ रनको लक्ष्य प्रदेश १ ले २ ओभर ४ बलमा विकेट नगुमाई पुरा गर्यो । प्रदेश १ लाई जित दिलाउन रुविना क्षेत्रीले अविजित १८ रन तथा काजोल श्रेष्ठले अविजित ८ रनको योगदान दिईन्।
अर्को खेलमा प्रदेश २ ले प्रदेश ५ लाई १ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको प्रदेश २ ले १११ रन बनाएको थियो । प्रदेश २ का लागि शोभा आलेले ५० रनको योग्दान दिईन् ।
प्रदेश २ ले दिएको ११२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको प्रदेश ५ ले २० ओभरमा ९ विकेट गुमाएर ११० रन मात्र बनाउन सक्यो ।
जितसंगै प्रदेश २ सेमिफाइनलमा पुग्दा प्रदेश ५ बाहिरिएको छ ।