नेपालगंज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगितामा शनिबार तीन खेलाडीले राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
महिला ५५ किलो तौल समूहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले स्न्याचमा ६५, क्लीन एन्ड जर्कमा ८१ तथा कुल १४८ किलो भार बहन गर्दै तीन वटै राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । यसैगरी, तीन वटा राष्ट्रिय कीर्तिमान कायम गर्नेमा पुलिसकै प्रकाश केसी र आर्मीकी कमला श्रेष्ठ पनि रहे ।
पुरुष ६७ किलो तौल समूहमा प्रकाशले स्न्याचमा १०३, क्लीन एन्ड जर्कमा १२२ तथा तथा कुल २२५ किलो भार बहन गर्दै तीन वटा राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । महिला ५९ किलो तौल समुहमा कमलाले स्न्याचमा ७०, क्लीन एन्ड जर्कमा ८० तथा कुल १५० किलोको तीन वटा कीर्तिमान कायम गरेकी हुन् । सो स्पर्धामा पुलिसकी जुनु माया छन्त्यालले रजत तथा गण्डकी प्रदेशकी टिका माया गुरुङले काश्य पदक जिते ।
देवीलाई पछ्याउदै आर्मीकी मनिषा रानाभाटले रजत तथा गौरी चौधरीले काश्य पदक जिते । यसैगरी, पुरुष ६७ किलोमा आर्मीकी जिवन तामाङले रजत तथा गण्डकी प्रदेशका धन बहादुर झाक्रीले काश्य पदक जिते ।