काठमाडौं । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको महिला एकलतर्फको स्वर्ण पदकका लागि गण्डकी प्रदेशकी कृष्णा थापा र प्रदेश ३ की भावना सुनुवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा राउन्ड रोविनमा जारी खेलमा आइतबार कृष्णाले प्रदेश ३ की विपना ब्लोनलाई ३-२ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरिन् ।
कृष्णाले विपनालाई ३-११, ११-६,११-७,७-११ र ११-६ को सेटमा पराजित गरिन् । भावना भने शनिबार नै लगातार चौथो जितसहित फाइनल पुगेकी थिईन् ।
महिला एकलतर्फ नै प्रदेश ३ की स्वस्थानी श्रेष्ठले दुई जित निकालिन । पहिलो खेलमा स्वस्थानीले प्रदेश ३ कै मन्जिला मगरलाई ११-७,११-७ र ११-६ को सेटमा हराईन् ।
अर्को खेलमा स्वस्थानीले नै गण्डकीकी सालिनी घिमिरेलाई ११–६, ११–४ र ११–८ को सोझो सेटमा पन्छाए ।