फाइनल प्रवेशका लागि अर्जेन्टिना र ईङ्ल्याण्ड भिड्दै

काठमाडौं । फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार राति इंग्ल्यान्ड र साविक विजेता अर्जेन्टिना आमनेसामने हुँदैछन्। एटलान्टामा हुने खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
विजेताले आइतबार हुने फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो व्यावसायिक करियरमा पहिलोपटक इंग्ल्यान्डविरुद्ध खेल्न लागेका हुन्। दुवै टोलीबीच सन् २००२ को विश्वकपपछि प्रतिस्पर्धात्मक खेलमा पहिलोपटक भेट हुन लागेको हो।
इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले महत्वपूर्ण खेलअघि आफू केही नर्भस रहेको स्वीकार गरेका छन्। इंग्ल्यान्डलाई इतिहासकै चौथो विश्वकप सेमिफाइनलमा नेतृत्व गर्दा आफूले कुनै अतिरिक्त बोझ महसुस नगरेको उनले बताएका छन्।
इंग्ल्यान्डका डिफेन्डर मार्क गुएहीले साविक विजेता भएकाले खेलको दबाब अर्जेन्टिनामाथि बढी रहने बताएका छन्।
मिडफिल्डर डेक्लान राइस खेलका लागि उपलब्ध हुनेमा इंग्ल्यान्ड आशावादी छ। तर उनको फिटनेसबारे अन्तिम निर्णय खेलअघि मात्र गरिनेछ।
सन् १९६६ को विश्वकप विजेता इंग्ल्यान्डका महान् खेलाडी सर जिओफ हर्स्टले अर्जेन्टिनाविरुद्धको खेल प्रतियोगितामा इंग्ल्यान्डका लागि अहिलेसम्मकै सबैभन्दा कठिन चुनौती हुने बताएका छन्।
विश्व फुटबलका दुई ठूला टोलीबीचको यस भिडन्तमा मेस्सीको अर्जेन्टिनाले उपाधि रक्षा गर्ने यात्रा अघि बढाउने प्रयास गर्नेछ । इंग्ल्यान्ड लामो समयपछि विश्वकप फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रनेछ।












