नेपालगञ्ज । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष हक्कीमा प्रदेश नम्बर ५ ले लगातार तेस्रो जित हासिल गरेको छ । सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दैै प्रदेश ५ ले तेस्रो जित दर्ता गरेको हो ।
प्रदेश ५ को जितमा शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिश गुरुङले ३९ औँ मिनेटमा गोल गरे । दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर टिमको खाता खोलेका थिए । सोही खेलमा सुदूरपश्चिम प्रदेशका भीमदत्त भट्टले खेलको ४८ औँ मिनेटमा गोल फर्काएका थिए ।
शनिवार बिहान भएको कर्णाली प्रदेश र प्रदेश नम्बर १ बीचको खेल बराबरीमा सकिएको थियो । बराबरीको नतिजासंगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिताको ५० औँ मिनेटमा कर्णाली प्रदेशका सुशान्त रावतले गोल गर्दै टिमको खाता खोलेका थिए । खेलको ५४ औँ मिनेटमा प्रदेश नम्बर १ का संजय राजवंशीले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।