काठमाडौं । गण्डकी प्रदेशका अमृत थापा मगरले आठौं राष्ट्रिय खेलकुद अन्तर्गत ११ औं राष्ट्रिय स्क्वासको पुरुष एकलमा स्वर्ण जितेका छन् ।
ललितपुरको सातदोबाटोस्थित स्क्वास एकेडेमीमा शनिबार भएको फाइनलमा अमृतले प्रदेश ३ का प्रवीणवीरसिंह कंशाकारलाई ३-१ को सेटमा हराएर स्वर्ण जितेका हुन् ।
स्वर्ण जित्ने क्रममा अमृतले प्रवीणलाई ११-५, ३-११,११-७ र ११-४ को सेटमा पाखा लगाए । फाइनलमा पराजित भएपछि प्रवीणले रजतमा चित्त बुझाए ।
पुरुष एकलमा प्रदेश ३ का राजेन्द्र शाक्य र प्रदेश २ का दीपक थापाले कास्य हात पारे ।
महिला सिंगल्सको राउन्ड रोविनमा प्रदेश ३ की भावना सुनुवारले लगातार चौथो जित हात पारेकी छन् । भावनाले आफ्नै प्रदेशकी विपना ब्लोनलाई ११–७, १३–११ र १२–१० ले हराइन् । ६ खेलाडी सहभागी महिलामा अब भावनाले १ खेल खेल्न बाँकी छ ।
अन्य खेलमा गण्डकीकी कृष्णा थापाले प्रदेश ३ की स्वस्थानी श्रेष्ठलाई ११–७, ११–९ र ११–८ तथा प्रदेश ३ की मन्जिला मगरले गण्डकी सालिनी घिमिरेलाई ११–३, ११–२ र ११–३ को सोझो सेटमा पन्छाए । पुरुष टिममा एपीएफले प्रदेश २ लाई ३–० तथा प्रदेश १ ले प्रहरीलाई २–१ ले निराश पारे ।