काठमाडौं । थाइल्याण्डको बैंककमा शनिबारबाट सुरु भएको थाइल्याण्ड ओपन अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपालका बिमल रोकाले जित हासिल गरेका छन् । शनिबार भएको खेलमा ५६ केजीमुनि बिमलले विजयी सुरुवात गरेका हुन् ।
बिमलले पहिलो बाउटमा स्लोभेनियाका एलेक्स गुजेजलाई पराजित गरेका हुन् । प्रतियोगितामा शनिबार नै प्रतिस्पर्धा गरेका अन्य दुई नेपाली खेलाडी भने पराजित भएका छन् । ७५ केजी मुनि दिपक श्रेष्ठ काजकस्तानका अमान काजन्कापोभसंग पराजित भए । यस्तै ६० केजी मुनि एक बहादुर घले आयोजक थाइल्याण्ड 'बी' का सोमचाइ वोङ्सुवानसंग पराजित भए ।
प्रतियोगितामा आइतबार ६९ केजी मुनि बिष्णु प्रसाद घलेले चाइनिज ताइपेका खेलाडीसंग प्रतिस्पर्धा गर्ने छन् । यस्तै ६४ केजी मुनि भुपेन्द्र थापा र ४९ केजी मुनि तेज बाहादुर देउवाले प्रतिस्पर्धा गर्दै छन् । ५२ केजी मुनिका प्रेम चौधरी भने मेडिकलमा डिसक्वालिफाइ भएका छन् ।
प्रतियोगितामा नेपाल सहित ३० देशका ३०० भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । नेपाली बक्सिङ टोली यो प्रतियोगिता खेल्न र एसियन गेम्सको तयारीका लागि थाइल्याण्डमा रहेका छन् ।
नेपाल बक्सिङ संघको ब्यबस्थापनमा नेपाली तोली २ महिने लामो प्रशिक्षण सकाएर एसियन गेम्स खेल्न इन्डोनेसिया जाने छन् ।