नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष हक्कीमा प्रदेश नम्बर २ ले विजयी सुरुवात गरेको छ ।
नेपालगन्जमा बुधबार भएको खेलमा प्रदेश २ ले प्रदेश नम्बर ३ लाई ५-० गोल अन्तरले पराजित गर्यो ।
प्रदेश २ को जितमा कप्तान हरविन्द्र सिंह र गोविन्द अधिकारीले समान २/२ गोल गरे । यस्तै मनोज शाहले एक गोल गरे ।
नेपालगन्जस्थित मंगलप्रसाद माविमा सुरु प्रतियोगिता अन्तर्गत अर्को खेलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले गोल रहित बराबरी खेल्दै अंक बाडेका छन् ।
प्रदेश ५ ले प्रदेश १ लाई ३–० गोलले हरायो । जितमा सानु लामा, अमन कुमार र मनीष गुरुङले १–१ गोल योगदान गरे ।
आगामी बैशाख ४ गतेसम्म संचालन हुने हक्कीमा सात प्रदेश र दुई विभागिय टोली नेपाल पुलिस र आर्मी क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
महिलातर्फका हक्की प्रतियोगितामा ६ वटा टिमले मात्र प्रतिष्पर्धा गर्ने छन् ।