काठमाडौं । प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा फाइनल समिकरण पूरा भएको छ । प्रतियोगिताको ४९ केजी तौल समूहमा आर्मीका सुशिल थापा र सशस्त्र प्रहरीका आश तामाङ फाइनलमा पुगेका छन् । सेमिफाइनलमा आर्मीका सुशिलले सशस्त्रका प्रदिप महर्जनलाई पराजित गर्दा आशले कास्कीका विष्णु गौतमलाई हराए ।
पुरुष ५२ केजी तौल समूहको स्वर्णका लागि एपीएफका पुरन राई र कास्कीका दिनेश बानियाँ भिड्ने भएका छन् । सेमिफाइनलमा पुरनले झापाका सुरेन्द्र राईलाई हराउदाँ दिनेशले झापाका जितेन्द्र राईलाई पराजत गरे ।
६० केजी तौल समूहको सेमिफाइनलमा आर्मीका दानबहादुर दर्लामीले नक्सालका किशोर शर्मालाई र झापाका प्रकाश लिम्बुले कञ्चनपुरका रामबहादुर थापालाई हराए । ६४ केजी तौल समूहको पहिलो सेमिफाइनलमा आर्मीका नरेश थापाले एपीएफका सोनम कार्कीलाई र झापाका अविनय राईले आर्मीका बुद्धिशागर गुरुङलाई पराजित गरे ।
६९ केजीमा आर्मीका रवि सुनुवारले आफ्नै क्लबका सन्दिप बेन्जुलाई हराउदाँ कास्कीका हेमराज राउतले काठमाडौंका सरियान्स प्रजापतिलाई पराजित गरे । पुरुषकै ७५ केजीमा बानुजका कौशलजंग थापाले आर्मीका लाल आलेमगरलाई र आर्मीका किरण राज शाहीले दमकका प्रेम गुरुङलाई पराजित गरे ।
८१ केजीमा कास्कीका दिपक सुनुवारले आर्मीका कृष्ण सिंह धामी र आर्मीका भुपेन्द्र सिंहले टिकाथलीका रवीन्द्र घिमिरेलाई पराजित गरे । अखिल नेपाल खेलकुद संघको आयोजनामा जारी प्रतियोगिताको महिला ४८ केजी तौल समूहको स्वर्णका लागि एपीएफका नन्जा बुढामगर र सावित्री तामाङ भिड्ने भएका छन् । नन्जाले आर्मीकी सुमित्रा विक र सावित्रीले अल्फाका विमला थापामगरलाई पराजित गरिन् ।
५२ केजी तौल समूहको पहिलो सेमिफाइनलमा मकवानपुरकी सन्जुमाया थिङले आर्मीकी आरती तामाङ र एपीएफकी माला राईले आर्मीकी गिताकुमारी थापालाई हराउँदै उपाधि भिडन्त पक्का गरे ।
५४ केजी तौल समूहमा आर्मीकी मिनु गुरुङ र काठमाडौंकी मिना घले फाइनलमा पुगेका प्रतिस्पर्धा गर्ने भएका छन् । ५७ केजीमा आर्मीकी चन्द्रकला थापाले एपीएफकी माया चौधरीलाई र नक्सालकी कुशुम तामाङले आर्मीकी मुना बम्जनलाई हराइन् ।
प्रतियोगिताका सबै फाइनल खेल भोली हुनेछन् ।