काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले आठौं वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताका अधिकांश खेल २०७५ सालको चैत महिनामै हुने बताएका छन् ।
परिषद्को बोर्ड बैठकले बैशाखको पहिलो साता उद्घाटनको मिति सार्वजनीक गरेपनि सदस्य सचिव विष्टले प्रतियोगिताका अधिकांश खेलहरु चैतमा हुने बताएका हुन् ।
राखेपको शुक्रबार बसेको बोर्ड बैठकले प्रतियोगिताको नयाँ मिति तय गरेको छ । आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ८ गते देखि ११ गतेसम्म सञ्चालन हुने तय भएको हो ।
‘चैतको २५ गतेबाट खेलहरु सुरु गर्ने तयारी छ ।’ उनले खेलपाटीसंग भने, ‘उद्घाटन बैशाख भएपनि अधिकांश खेलहरु चैत महिनामै हुनेछन् ।’
प्रतियोगिताको नयाँ मिति सार्वजनीक भएको खुसी व्यक्त गर्दै उनले दुई बर्षमा प्रतियोगिता आयोजना हुन खुसीको बिषय भएको बताए ।
‘चाहाना ७५ सालमै गरौ भन्ने थियो । सबै पक्षको बिषयलाई सम्बोधन गर्दा दुई चार दिन तल माथि भएको हो ।’ उनले भने ।
सदस्य सचिव विष्टले चैत २५ भित्र पुर्वाधार निर्माण सकिने बताउँदै चैतको अन्तिम साता प्रतियोगिता आयोजना गर्नुपर्ने बताउँदै आएका थिए ।