काठमाडौं । हङकङमा आयोजना भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा स्वर्ण पदक विजेता खेलाडी अजितकुमार यादव सम्मानित भएका छन् ।
नेपाल एथलेटिक्स संघले मंगलबार स्वर्ण विजेता अजित र प्रशिक्षक धनीराम चौधरीलाई सम्मान गरेको हो । संघले अजितलाई टिभिएस मोटरसाइकल र प्रशिक्षक धनीरामलाई १ लाख नगदले सम्मान गरेको हो ।
यस्तै अजितलाई गोल्छा अर्गनाइजेसन, नबिल बैंक,गोल्डस्टार, रुस्लान र अन्नपूर्ण होटलले एक वर्षका लागि मासिक १२ हजारको दरले प्रायोजन गरेको छ । यस्तै अन्नपूर्णले अजितलाई एक बर्षको लागि जिम र स्विमिङ गर्न निशुल्क सेवा उपलब्ध गरेको छ ।
च्याम्पियनसिपमा अजितले ३ हजार किलोमिटर दौडमा नेपाललाई स्वर्ण पदक दिलाएका थिए । स्वर्ण जित्ने क्रममा अजितले भारत र यमनका खेलाडीलाई पछि पारेका थिए ।
अन्तर्राष्ट्रिय एथलेटिक्स महासंघ (आईएएएफ) द्वारा मान्यता प्राप्त र एसियाली एथलेटिक्स महासंघले आयोजना गर्ने अफिसियल एसियाली च्याम्पियनसिपमा नेपाली खेलाडीले जितेको यो पहिलो स्वर्ण हो ।
समग्रमा भने दोश्रो पदक हो । ४५ वर्षअघि (१९७३) फिलिपिन्सको मनिलामा भएको एसियाली ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा जितबहादुर केसीले म्याराथनमा कांस्य जितेका थिए । त्यो कांस्य अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले जितेको पहिलो पदक पनि हो ।