काठमाडौं । नेपाल ओलम्पिक कमिटि (एनओसी) अन्तर्गतको महिला स्पोर्ट्स कमिसनले ब्याटमिन्टनका पुर्व महिला खेलाडी राजदेवी मानन्धर र राष्ट्रिय खेलकुद परिषद (राखेप) का कर्मचारी ललिता पनेरुलाई नगदसहित सम्मानित गरेको छ ।
कमिसनले शुक्रबार अन्तराष्ट्रिय महिला दिवसको अवसरमा पुर्व लेजेण्ड मानन्धर र पनेरुलाई सम्मान गरेको हो । एनओसी भवनमा आयोजित कार्यक्रममा कमिसनले मानन्धर र पनेरुलाई समान २५/२५ हजार र सम्मान पत्रबाट सम्मानित गरेको हो ।
उनीहरुलाई नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ र कमिसनका अध्यक्ष ज्योति राणाले सम्मान गरेका थिए ।
दुवैलाई नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै महिला दिवसमा सम्मान गरिएको कमिसनले जनाएको छ ।
मानन्धर बिस २०२८ सालबाट नेपाली ब्याटमिन्टन खेलमा संग्लग्न रहेकी छिन् । यस्तै पनेरु राखेपमा काम गर्ने पुरानो महिला कर्मचारी हुन् ।
सम्मानपछि बोल्दै एनओसी अध्यक्ष श्रेष्ठले २१ औं शताब्दीमा पनि महिलाहरुमा विभेद भईरहेको र महिला सशक्तिकरणमा सन् २०३० सम्म आमुल परिवर्तन हुने बताए । उनले पुराना महिला खेलाडी र कर्मचारीलाई सम्मान गरेकोमा कमिसनलाई धन्यवाद समेत दिए ।
यस्तै कार्यक्रममा सुदुरपश्चिममा रहेको छाउपडी प्रथाको अभ्यासबारे छलफल भएको थियो ।