काठमाडौं । त्रिभुवन आर्मी क्लबका बाबुराम मगर र नरेश देवानले प्रकाश दाहाल स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको दोस्रो चरणमा स्थान बनाएका छन् ।
अखिल नेपाल खेलकुद संघको आयोजनामा बुधवार सुरु प्रतियोगिताको पहिलो दिन पुरुष ५६ केजी तौल समूहमा बाबुरामले उदयपुरका विजय राई र नरेशले अल्फाका चन्द्रज्योती थापालाई पराजित गर्दै दोस्रो चरणको यात्रा तय गरेका हुन् । यस्तै आर्मीका पुरन सुनुवारले मकवानपुरका सुशन मानन्धरलाई हराउँदै दोस्रो चरणमा प्रवेश स्थान बनाएका छन् ।
५६ केजीमै रामेछापका फुर्वा शेर्पाले कैलालीका आदर्श पाण्डेलाई र झापाका सुरेन्द्र राईले बाँकेका नवीन घर्तिलाई पराजित गर्दै दोस्रो चरणमा पुगे ।६० केजी तौल समूहमा आर्मीका दानबहादुर दर्लामीले सुनसरीका मोनिहाङ लिम्बुलाई, बानुजका कर्मा तेन्जिङ गुरुङले बाँकेका विशाल रग्मीलाई, काठमाडौंका सुमन बज्राचार्यले कास्कीका रेक सुब्बा गुरुङलाई हराए ।
यस्तै मेघदुत क्लबका सलेन शाहीले चितवनका छविराज बोहरालाई अंकको आधारमा हराउँदै दोस्रो चरणमा प्रवेश गरे । ४९ केजी तौल समूहमा टोटल फिटनेशका तेज पुन मगरले बाँकेका सागर थापालाई पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए ।
प्रतियोगितामा पुरुषतर्फ ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१, ९१ र ९१ माथि १० तौल समूह तथा महिलातर्फ ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ माथि गरी ८ तौल समूह समावेश गरिएको छ ।
प्रतियोगितामा बिभागीय टोलीहरु आर्मी, पुलिस र एपीएफ लगायत देशभरबाट १९० खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता पाँच दिनसम्म संचालन हुनेछ ।