काठमाडौं । मदन भण्डारी स्मृति रोड रेस प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडमीले सोमबार पत्रकार सम्मेलन गर्दै रोड रेस फागुन १८ गते आयोजना हुने जनाएको छ ।
रन क्लब नेपालसंगको सहकार्यमा आयोजना हुने रोड रेस करिब १५ सय खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ ।
रोड रेसमा ५ किमिको महिला र पुरुष खुल्ला दौड र ५ किमिको स्कुल स्तरीय दौड हुनेछ ।
दौड लैनचौर फुटबल मैदानबाट सुरु भई दुध डेरी, लैनचौर ब्यान्क्वेट, उत्तर ढोका, नागपोखरी, नारायणहिटी,घन्टाघर,रत्नपार्क, जमल, कान्तिपथ, केशरमहल, संचयकोष भवन, भगवती मन्दिर, ठमेल चोक, अस्कल क्याम्पस, मल्ल होटल हुँदै पुन: लैनचौरमा आएर सकिनेछ ।
५ किमिको खुल्लातर्फको विजेताले २० हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् ।
यस्तै स्कुल स्तरीयको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रोले ५ हजार नगद पुरस्कार पाउने छन् ।
रोड रेसमा कीर्तिमानी ओलम्पियन धावक बैकुण्ठ मानन्धर र नेपाललाई पहिलो पदक दिलाउन सफल धावक जित बहादुर केसीले सहभागिता जनाउने छन् ।