काठमाडौं । स्पेनमा भएको अन्तर्राष्ट्रिय मार्सल आर्ट्स च्याम्पियनसिपमा नेपालका सुनील मल्ल ठकुरी र रोशन आचार्यले पदक हात पारेका छन् ।
स्पनेको भ्यालेन्सियास्थित अलमसेरा स्पोट्र्स सेन्टरमा सोमबार भएको खेलमा सुनीलले फाइटतर्फ स्वर्ण पदक दिलाएको नेपाली टिमका प्रशिक्षक अविशेक मल्लले जानकारी गराए ।
सुनीलले पुरुष ६३ केजीको फाइनलमा स्पेनका भिक्टर मार्टिन पेरेजलाई स्तब्ध बनाउँदै स्वर्ण जित्न सफल भएका हुन् । त्यसअघि सेमिफाइनलमा उनले अफगानिस्तानका अहमद जावेद नाविजादालाई हराउँदै स्वर्ण पदकको भिडन्त तय गरेका थिए ।
त्यस्तै नेपालका रोशनले फाइटतर्फ कांस्य पदक जित्न सफल भए । पुरुष ५३ केजीको पहिलो खेलमा चीनका जियान हाउ झिउमाथि जित रचेका थिए । त्यसपछिको क्वार्टरफाइनल खेलमा भने रोशनले अफगानिस्तानका हेदायातुल्लाह उस्मानीलाई स्तब्ध बनाउँदै कांस्य पदक पक्का गरे । तर, सेमिफाइनलमा इटालीका अर्टिअम प्रोकासँग पराजित भएपछि कांस्य पदकमै सीमित भए ।
सोही च्याम्पियनसिपमा नेपालका प्रशिक्षक समेत रहेका अविशेक मल्लले बेस्ट रेफ्रीको समेत अवार्ड हात पार्न सफल भए ।