पोखरा । प्रदेशमा ५ मा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेश स्तरिय छनौट अन्तर्गत एथलेटिक्सका खेल सकिएको छ ।
पोखरा रंगशालामा आइतबार ४०० मिटर रिले पुरुषमा कास्कीले स्वर्ण पदक जितेको छ । यस्तै नवलपुरले रजत र म्याग्दीले कास्य पदक जित्यो । महिला रिलेमा कास्कीले स्वर्ण, स्याङजाले रजत र गोर्खाले कास्य पदक जितेको छ ।
यस्तै २०० मिटर दौडमा नवलपुरका प्रकाश रानामगरले स्वर्ण पदक जित्दा नवलपुरका समिर महतोले रजत र कास्कीका सुदिप जोशीले कास्य जिते । महिला २०० मिटरमा नवलपुरकी कल्पना श्रेष्ठले स्वर्ण, कास्कीका द्वय अनिशा भण्डारी र कुशुम गुरुङले क्रमश रजत र कास्य पदक जिते ।
५००० मिटर पुरुषको दौडमा कास्कीका स्माइल भण्डारीले स्वर्ण, पर्वतका प्रकाश कुवरले रजत र गार्खाका रन्जित अधिकारीले कास्य पदक जितेका छन् । महिला ५००० मिटरमा पर्वतकी सरस्वती कुवरले स्वर्ण, नवलपुरकी डोलमाया महतोले कास्य र स्याङजाकी चन्द्रकला खरालले कास्य पदक हात पारीन् ।
ट्रिपल जम्पतर्फ पुरुषमा नवलपुरका प्रकाश रानामगरले स्वर्ण, लमजुङका जयन्द्र गुरुङले रजत र कास्कीका सागर नेपालीले कास्य पदक जिते । महिलातर्फ तनहुँकी ज्योती श्रेष्ठ, गोर्खाका सविना परियार र सबिता तामाङले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।
डिस्कथ्रो पुरुषतर्फ नवपुरका बिनोद थनेत, गोर्खाका निशान गुरुङ, तनहुँका भद्र बहादुर खत्रीले क्रमश स्वर्ण, रजत र कास्य पदक तथा महिलातर्फ कास्कीकी सोनु नेपाली, नवलपुरकी लक्ष्मी थनेत र लम्जुङकी शुसिला श्रेष्ठले क्रमश स्वर्ण, रजत र कास्य पदक जिते ।