पोखरा । पोखरामा आयोजना हुने १३ औं संस्करणको सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनको तयारी पुरा भएको छ ।
आयोजक भूतपूर्व खेलाडी मंचले शनिबार पोखरामा पत्रकार सम्मेलन गर्दै फागुन ७ गते आयोजना हुने म्याराथनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै मंचका अध्यक्ष तेज गुरुङले अघिल्ला संस्करणहरु भन्दा यसपटक सबैमा उत्साह आउने गरि कार्यक्रम अगाडी बढेको बताए । यस्तै अध्यक्ष गुरुङले म्याराथनमा ५ हजार पोखरेली दौडने बताए ।
पोखरा रंगशालाबाट सुरु हुने म्याराथन गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउन सफल १३ औं पटकका सगरमाथा आरोही तेन्जिङ शेर्पा र माउन्ट किनाबुलु मलेशियामा १९९१, १९९२ र १९९३ मा किर्तिमानधारी अन्तर्राष्ट्रिय धावक ले.कुशाङ गुरुङको उपस्थिती रहने अध्यक्ष गुरुङले जानकारी दिए ।
यस्तै नायिका तथा सगरमाथा आरोही रोजिता बुद्धाचार्य, सगरमाथा आरोही देउराली चाम्लिङ, अन्नपूर्ण पोष्टका प्रधान सम्पादक अखण्ड भण्डारी, व्रेष्ट क्यान्सर विरुद्धकी अभियान्ता एवम पूर्व भलिबलका राष्ट्रिय खेलाडी मञ्जु गुरुङ, बोष्टनका याम पौडेल, पोखरेली मंच यूकेका अध्यक्ष मान प्रसाद गुरुङ समेत सहभागिताका लागि पोखरा आइसकेको आयोजकले जनाएको छ ।
प्रतियोगिताको लागि २८ लाख स्वदेश तथा विदेशबाट संकलन भएको अध्यक्ष गुरुङले जानकारी गराए । पत्रकार सम्मेलनमा प्रतियोगिता सफल पार्न पोखरेली मञ्च युकेबाट ७ लाख ५० हजारको चेक पोखरेली मञ्चका तर्फबाट अध्यक्ष मान प्रसाद गुरुङले अध्यक्ष तेज गुरुङलाई हस्तान्तरण गरेका थिए ।
त्यसैगरि अमेरिका स्थित बोष्टन र न्यू ह्याम्पशायरलाई आफ्नो कर्म क्षेत्र बनाएर बस्दै आएका नेपालीहरुले ३ लाख रुपैया सहयोग रकम याम पौडेलले अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेका थिए । यस्तै हङकङबासी नेपालीहरुबाट ५ लाख ४७ हजार सहयोग प्राप्त भएको अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतियोगिताको लागि गण्डकी प्रदेश सरकारले २ लाख रुपैया आर्थिक सहयोग गरेको छ । यस्तै पोखरा महानगरपालिका वडा नं ५ का तर्फ वडाका अध्यक्ष एवम महानगरका प्रवक्ता धन बहादुर नेपालीले २५ हजार प्रदान गर्ने घोषणा गरेका थिए ।
म्याराथन हिमालय टिभी एचडीले प्रत्यक्ष प्रशारण गर्ने मंचका प्रथम उपाध्यक्ष हरी प्रसाद पराजुली जानकारी दिए । मंचका संस्थापक अध्यक्ष खड्ग रानाभाटले पोखरा म्याराथनका लागि विशेष रुपमा आफ्नो तयारी गरि यूके, हङकङ, वोष्टन लगाएत अन्य मुलुक बाट सहभागिताका लागि आउने क्रम जारी रहेको जानकारी दिए ।