पुन : फाइनल खेलाउनुपर्ने मागसहित अर्जेन्टिनाका समर्थक हस्ताक्षर अभियानमा
-1784818039115.webp&w=3840&q=75)
काठमाडौं। विश्वकपको फाइनलमा आफूहरू अन्यायको शिकार भएको भन्दै अर्जेन्टिनाका समर्थकहरूले पुनः फाइनल खेल गराउनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाइरहेका छन्।
यही बेला यसको ठीक विपरीत अर्को अभियान पनि चर्चामा आएको छ। यस अभियानमा अर्जेन्टिनालाई विश्वकपबाट आजीवन प्रतिबन्ध लगाउन माग गर्दै हस्ताक्षर संकलन गरिएको छ, जसमा हालसम्म २३ मिलियनभन्दा बढी हस्ताक्षर भइसकेको दाबी गरिएको छ।
फुटबलसम्बन्धी लोकप्रिय समाचार माध्यम गोल डटकमले युरो न्युजलाई उद्धृत गर्दै प्रकाशित गरेको रिपोर्टअनुसार उक्त अभियानमा कुल २ करोड ३३ लाख १६ हजार १०८ जनाले हस्ताक्षर गरेका छन्।
‘लिभ, अर्जेन्टिना’ शीर्षक दिइएको यस अन्तर्राष्ट्रिय याचिकामा फिफा र खेलका रेफ्रीमाथि अर्जेन्टिना तथा उसका कप्तान लिओनल मेसीलाई विशेष सुविधा दिएको आरोप लगाइएको छ।
अभियानका आयोजकहरूको भन्छन्,‘यदि विजेता पहिल्यै तय गरिएको हो भने बाँकी देशहरूले प्रतिस्पर्धा गर्नुको अर्थ के रह्यो? सबै टोलीलाई समान अवसर सुनिश्चित गर्न अर्जेन्टिनालाई विश्वकपबाट प्रतिबन्ध लगाइनुपर्छ।’
सुरुमा ५० लाख हस्ताक्षर संकलन गर्ने लक्ष्य राखिएको यो अभियानले छोटो समयमै २ करोडभन्दा बढी हस्ताक्षर पार गरेको दाबी गरिएको छ। गिनिज वर्ल्ड रेकर्ड्सका अनुसार सन् १९९७ को ‘जुबिली २०००’ अभियानमा २ करोड ४० लाखभन्दा बढी हस्ताक्षर संकलन भएपछि यो इतिहासकै सबैभन्दा ठूलो हस्ताक्षर अभियानमध्ये एक बनेको उल्लेख गरिएको छ।
उल्लेखनीय छ, अमेरिकाको मेटलाइफ स्टेडियममा सम्पन्न रोमाञ्चक विश्वकप फाइनलमा अतिरिक्त समयको १०६औं मिनेटमा फेरान टोरेसले गरेको निर्णायक गोलको मद्दतले स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै दोस्रो पटक विश्वच्याम्पियन बन्न सफल भएको थियो।
यस खेलमा स्लोभेनियाका रेफ्री स्लाभ्को भिन्चिचका केही निर्णय विवादित बने। अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर र निकोलास टाग्लियाफिको फाउल गरे पनि कार्ड नपाएको आरोप लाग्यो। साथै, स्पेनका निको विलियम्स र फेरान टोरेसका दुई गोल रद्द गरिएका कारण पनि विवाद चर्किएको थियो।
यता, प्रतियोगिताभर अर्जेन्टिनाको आक्रामक खेलशैली र केही खेलाडीहरूको व्यवहारप्रति पनि फुटबल समर्थकहरूको एक समूहले असन्तुष्टि व्यक्त गरेको बताइएको छ।













