रोनाल्डोलाई नकआउट चरणमा गोलको खडेरी

एक वा दुई होइन, लगातार छैटौं विश्वकप खेल्दै पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले अर्को कीर्तिमान कायम गरेका छन्।
गोल गर्नु उनको परिचय भए पनि विश्वकपको नकआउट चरणमा भने उनले अहिलेसम्म एक गोल पनि गर्न सकेका छैनन्। अब प्रश्न उठेको छ, के यसपटक रोनाल्डोको नकआउट गोलको प्रतीक्षा अन्त्य होला?
विश्वकप इतिहासमा रोनाल्डोले हालसम्म १० गोल गरेका छन्। तर‚ सन् २००२ देखि २०२६ सम्मका सबै विश्वकपमा उनले गरेका सबै गोल समूह चरणमै सीमित छन्। नकआउट चरणमा भने उनी अहिलेसम्म गोलविहीन छन्।

रोनाल्डोले २००२ को विश्वकपबाट प्रतियोगितामा डेब्यु गरेका थिए। त्यस संस्करणमा उनले इरानविरुद्ध एक गोल गरेका थिए। त्यसपछिका दुई विश्वकपमा पनि उनले एक–एक गोल मात्र गर्न सके। २०१८ को रुस विश्वकप भने उनको उत्कृष्ट संस्करण रह्यो, जहाँ उनले स्पेनविरुद्ध ह्याट्रिकसहित कुल चार गोल गरेका थिए।
त्यसपछि २०२२ को कतार विश्वकपमा उनको नाममा एक गोल मात्रै रह्यो। जारी २०२६ विश्वकपमा रोनाल्डोले समूह चरणका तीन खेल खेलेका छन्।
पहिलो खेलमा गोल गर्न नसके पनि उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै आफ्नो गोलखाता खोले। तर‚ समूह चरणको अन्तिम खेलमा उनी फेरि गोलविहीन रहे।

अब पोर्चुगलले आज राउन्ड अफ ३२ मा क्रोएसियासँग प्रतिस्पर्धा गर्दैछ। लुका मोड्रिचको नेतृत्वमा रहेको क्रोएसियाविरुद्ध कागजमा पोर्चुगल बलियो देखिए पनि खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ।
उपाधि यात्रालाई निरन्तरता दिन पोर्चुगलले आफ्नो सबैभन्दा भरपर्दो हतियार रोनाल्डोबाट उत्कृष्ट प्रदर्शनको अपेक्षा गरेको छ।









-1787756317261.jpeg&w=3840&q=75)




-1787661904658.jpeg&w=3840&q=75)