प्रिमियर कपमा नेपालको सानदार सुरुआत
बुधबार, २० जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। पूजा महतो र बिन्दु रावलको ४१ रनको साझेदारीसँगै नेपालले एसीसी प्रिमियर कपमा सानदार सुरुआत गरेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो। जितसँगै नेपालले समूह ‘डी’मा २ अंक जोडेको छ। अब नेपालले बिहीबार भुटान र शनिबार हङकङसँग खल्नेछ।
कतारले दिएको ७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै ७८ रन बनायो।
नेपालकी ओपनर बिन्दुले सर्वाधिक ३३ रन बनाइन्। ३० बल खेलेकी उनले ४ चौका प्रहार गरिन्। उनी र उपकप्तान पूजा महतोबीच दोस्रो विकेटका लागि ४१ रनको साझेदारी भएको थियो।
२६ बल खेलेकी पूजा २८ रनमा अविजित रहिन्। कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहँदा सम्झनाकुमारी खड्का ३ रनमा पेभिलियन फर्किइन्।














