क्यानडा आईसीसीको निलम्बनमा

काठमाडौं। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले गम्भीर प्रशासनिक तथा सदस्यतासम्बन्धी दायित्व उल्लंघन गरेको भन्दै क्रिकेट क्यानडाको सदस्यता तत्काल प्रभावबाट निलम्बन गरेको छ।
भारतको अहमदाबादमा सोमबार सम्पन्न आईसीसी बोर्ड बैठकले उक्त निर्णय गरेको हो। आईसीसीले क्यानडाली खेलाडीहरूको हितलाई ध्यानमा राख्दै राष्ट्रिय टोलीलाई भने आईसीसीका प्रतियोगिताहरूमा सहभागी हुन अनुमति दिइने जनाएको छ।
निलम्बन अवधिमा क्रिकेट क्यानडाले आईसीसीबाट प्राप्त गर्ने आर्थिक सहयोग राष्ट्रिय टोलीका स्वीकृत कार्यक्रमहरूमा मात्र प्रयोग गर्न पाउनेछ र त्यसको निगरानी आईसीसी व्यवस्थापनले गर्नेछ।
आईसीसीले क्रिकेट क्यानडालाई पुनः सदस्यता प्राप्त गर्न आवश्यक सर्तहरूको सूची पनि उपलब्ध गराउने भएको छ। ती सर्तहरूको कार्यान्वयन प्रगतिलाई आईसीसीको नर्मलाइजेसन कमिटीले निगरानी गर्नेछ। सबै सर्त पूरा भएकोमा बोर्ड सन्तुष्ट भएपछि मात्र सदस्यता पुनर्बहाली गरिनेछ।














