त्यो ‘अन्डरअचिभर’ बैंग्लोर

काठमाडौं। १८ वर्षसम्म उपाधिको प्रतीक्षा। अनि लगातार दुईपल्ट च्याम्पियन। रोयल च्यालेन्जर्स बैंग्लोरको अब आफ्नो पहिचान नै बदलिएको छ।
एक समय ‘अन्डरअचिभर’ भनेर चिनिने टोलीले लगातार दोस्रो पटक आईपीएलको उपाधि जित्दै नयाँ इतिहास रचेको छ। आइतबार सम्पन्न आईपीएलको फाइनलमा गुजरातलाई ५ विकेटले पराजित गर्दै बैंग्लोर लगातार दोस्रोपल्ट च्याम्पियन बन्न सफल भएको हो।
कप्तान रजत पाटीदार लगातार दुई आईपीएल उपाधि जित्ने तेस्रो कप्तान बनेका छन्। यसअघि मात्र महेन्द्र सिंह धोनी (२००९, २०१०) र रोहित शर्मा (२०१९, २०२०) ले यो उपलब्धि हासिल गरेका थिए। बैंग्लोरको सफलताको मुख्य कारण टोली कुनै एक खेलाडीमा मात्र निर्भर रहेन।

ब्याटिङमा विराट कोहली, रजत पाटीदार र देवदत्त पडिक्कलले उत्कृष्ट प्रदर्शन गरे। बलिङतर्फ भुवनेश्वर कुमार, रसिख सलाम र जोश हेजलवुडले महतत्त्वपूर्ण योगदान दिए। सिजनभर टोलीका ८ फरक खेलाडी ‘प्लेअर अफ द म्याच’ बने। योसँगै टोलीले एक वर्षको अन्तरालमै अर्को उपाधि पनि हात पार्यो।
१. शीर्षक्रमका ब्याटरको निरन्तरता
बैंग्लोरको सबैभन्दा ठूलो शक्ति यस सिजन ब्याटिङ रह्यो। ओपनर कोहलीले फाइनलमा अविजित ७५ रन बनाएर टोलीलाई उपाधि दिलाए। उनले १६ खेलमा ६७५ रन बनाए। यसमा एक शतक र पाँच अर्धशतक समावेश छन्। उनको स्ट्राइक रेट १६५.८४ रह्यो।

कप्तान पाटीदारले पनि आक्रामक शैलीमा ब्याटिङ गर्दै १५ खेलमा ५०१ रन बनाए। उनको स्ट्राइक रेट १९२.६९ रह्यो। पडिक्कलले ४६४ रन जोड्दै शीर्षक्रमलाई थप मजबुत बनाए। यी तीन खेलाडीले मात्रै सिजनभर एक हजार ६४० रन बनाए। साथै वेंकटेश अय्यरले ६ इनिङ्समा २०९ रन बनाए।
फाइनलमा उनले १६ बलमा ३२ रनको महत्त्वपूर्ण योगदान दिएका थिए। शीर्षक्रमको निरन्तर प्रदर्शनका कारण यसपल्ट मिडल अर्डरमा धेरै दबाब सिर्जना भएन।
२. भुवनेश्वर र हेजलवुडको बलिङ नेतृत्व
बैंग्लोरको बलिङ आक्रमण यस सिजन निकै सन्तुलित देखियो। अनुभवी तीव्र गतिका बलर भुवनेश्वर कुमारले १६ खेलमा २८ विकेट लिएर टोलीको बलिङ विभागको नेतृत्व गरे।
रसिख सलामले १२ खेलमा १९ विकेट लिए भने जोश हेजलवुडले १३ खेलमा १५ विकेट हात पारे। जैकब डफीले पनि ६ खेलमा ९ विकेट लिएर महत्त्वपूर्ण भूमिका निर्वाह गरे।

स्पिन विभागमा क्रुणाल पाण्ड्याले २२६ रन बनाउनुका साथै १४ विकेट लिए। उनी प्रतियोगिताका उत्कृष्ट अलराउन्डरमध्ये एक बने। सुयश शर्माले ९ विकेट लिएर बीचका ओभरहरूमा विपक्षीलाई दबाबमा राखे। यही सन्तुलित बलिङ संयोजन बैंग्लोरको सफलता पछाडिको महत्त्वपूर्ण आधार बन्यो।
३. टोलीमा धेरै ‘म्याच विनर’
च्याम्पियन टोलीको पहिचान उसका ‘म्याच विनर’ खेलाडीहरूबाट हुन्छ। बैंग्लोरसँग त्यस्ता खेलाडीको कुनै कमी थिएन। यस सिजन टोलीका ८ फरक खेलाडीले ‘प्लेअर अफ द म्याच’ अवार्ड जिते।
कोहलीले सबैभन्दा धेरै तीन पटक यो अवार्ड जिते। हेजलवुड दुई पटक सम्मानित भए भने टिम डेभिड, डफी, अय्यर, भुवनेश्वर, पाटीदार र फिल साल्टले एक–एक पटक अवार्ड प्राप्त गरे।

यसले टोलीको सफलता कुनै एक खेलाडीमा सीमित नरहेको स्पष्ट देखायो। कुनै खेलमा एक खेलाडी असफल भए पनि अर्को खेलाडीले जिम्मेवारी सम्हालेर टोलीलाई जित दिलाए।
४. घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन
बैंग्लोरले यस सिजन आफ्नो घरेलु मैदानलाई लगभग अभेद्य बनायो। टोलीले घरेलु मैदानमा खेलेका ७ मध्ये ६ खेल जित्दै ८६ प्रतिशत सफलता हासिल गर्यो।
बैंगलोरले एम चिन्नास्वामी स्टेडियमसँगै रायपुरलाई पनि घरेलु मैदानका रूपमा प्रयोग गर्यो र दुवै स्थानमा उत्कृष्ट प्रदर्शन गर्यो। विशेष कुरा टोलीले पूरै सिजन लगातार दुईभन्दा बढी खेल कहिल्यै हारेन।

सनराइजर्स हैदराबाद, चेन्नई सुपर किंग्स, लखनऊ सुपर जायन्ट्स र गुजरात टाइटन्सजस्ता बलिया टोलीहरूलाई घरेलु मैदानमा पराजित गर्यो। घरेलु मैदानमा बैंग्लोरले दिल्ली क्यापिटल्ससँग मात्र हार बेहोर्नुपर्यो।
कप्तान पाटीदारको नेतृत्व पनि प्रशंसनीय रह्यो। उनले परिस्थिति र विपक्षी ब्याटरको कमजोरीअनुसार बलरहरूको प्रभावकारी प्रयोग गरे। यसले टोलीलाई लिग चरणदेखि प्लेअफसम्म मजबुत बनायो।
५. कोहलीको लगातार चौथो सिजन ६०० भन्दा बढी रन
कोहलीको उत्कृष्ट फर्म बैंग्लोरको सफलताको अर्को प्रमुख कारण बन्यो। उनले लगातार चौथो सिजन ६०० भन्दा बढी रन बनाउने उपलब्धि हासिल गरे।
-1780304511051.webp)
यस सिजन टोलीको ओपनिङ जोडी पटक–पटक परिवर्तन भए पनि कोहलीको प्रदर्शनमा कुनै असर परेन। फिल साल्ट चोटका कारण ६ खेल खेल्न सके। त्यसपछि जैकब बेथेललाई अवसर दिइयो। तर, उनले ७ खेलमा ९६ रन बनाए। लिग चरणका अन्तिम खेल र प्लेअफमा अय्यरले कोहलीसँग ओपनिङ गरे।
लगातार बदलिँदो साझेदारका बाबजुद कोहलीले आफ्नो लय कायम राखे र टोलीका लागि सर्वाधिक ६७५ रन बनाए। ठूला खेलहरूमा उनले इनिङ्सलाई सम्हाल्दै अन्य ब्याटरलाई आक्रामक खेल्ने अवसर प्रदान गरे।














