‘प्लेअर टू वाच’ : गिल भर्सेस कोहली

काठमाडौं। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आईपीएल २०२६ को फाइनल खेल हुँदैछ।
डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात टाइटन्सबीच हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुवै टोली दोस्रो पटक आईपीएल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
बैंग्लोरले गत सिजन पहिलो पटक ट्रफी उचालेको थियो भने गुजरातले २०२२ मा आफ्नो डेब्यू सिजनमै च्याम्पियन बन्न सफल भएको थियो। आईपीएल इतिहासका पछिल्ला आठ फाइनलमा क्वालिफायर–१ जित्ने टोली नै च्याम्पियन बनेको छ। सन् २०१६ यता सबै फाइनल क्वालिफायर–१ मा सहभागी टोलीबीच भएका छन्।
२०१६ मा भने सनराइजर्स हैदराबाद एलिमिनेटर जित्दै उपाधिसम्म पुगेको थियो। त्यसैगरी, आईपीएल फाइनलमा २०० भन्दा बढी रनको लक्ष्य अहिलेसम्म सफलतापूर्वक पछ्याइएको छैन। २००८ देखि २०२५ सम्म चार पटक २०० भन्दा बढी स्कोर बने पनि विपक्षी टोलीले त्यसलाई भेट्टाउन सकेको छैन।
दुवै टोलीबीच यस सिजन तीन खेल भइसकेका छन्। क्वालिफायर–१ मा बैंग्लोरले गुजरातलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
लिग चरणमा भने दुवैले एक–एक जित बाँडेका थिए। अप्रिल २४ मा बैंग्लोरले घरेलु मैदानमा पाँच विकेटको जित निकालेको थियो भने अप्रिल ३० मा गुजरातले आफ्नै मैदानमा चार विकेटको सफलता हात पारेको थियो।
‘प्लेअर टू वाच’
गुजरात टाइटन्स
शुभमन गिल
क्वालिफायर–२ मा राजस्थानविरुद्ध १०४ रनको उत्कृष्ट शतक बनाएका गिलले यस सिजन १५ खेलमा ७२२ रन जोडिसकेका छन्। उनले ६ अर्धशतक पनि प्रहार गरेका छन्।
साई सुदर्शन
सुदर्शनले क्वालिफायर–२ मा ५८ रन बनाउँदै गिलसँग १६७ रनको शतकीय साझेदारी गरेका थिए। उनले १६ खेलमा ७१० रन बनाएका छन्।
कागिसो रबाडा
२८ विकेटसहित यस सिजन सर्वाधिक विकेट लिने बलर बनेका रबाडाले क्वालिफायर–२ मा पनि दुई विकेट हात पारेका थिए।
बैंग्लोर
विराट कोहली
गुजरातविरुद्धको पछिल्लो खेलमा ४३ रन बनाएका कोहलीले यस सिजन १५ खेलमा ६०० रन पूरा गरेका छन्। उनको खातामा एक शतक र चार अर्धशतक छन्।
रजत पाटीदार
क्वालिफायर–१ मा गुजरातविरुद्ध अविजित ९३ रन प्रहार गर्दै बैंग्लोरलाई विशाल स्कोरतर्फ डोर्याएका पाटीदारले १४ खेलमा ४८६ रन बनाएका छन्। उनको स्ट्राइक रेट १९६.७६ रहेको छ।
भुवनेश्वर कुमार
पर्पल क्यापको दौडमा दोस्रो स्थानमा रहेका भुवनेश्वरले १५ खेलमा २६ विकेट लिएका छन्। गुजरातविरुद्धको पछिल्लो खेलमा उनले दुई विकेट हात पारेका थिए।
गुजरात टाइटन्सका तीव्र गतिका बलर मोहम्मद सिराज क्वालिफायर–२ का क्रममा काँधमा चोट बोकेका थिए। उनले आफ्नो ‘स्पेल’ पूरा गरे पनि फाइनलअघि उनको फिटनेस टोलीका लागि चिन्ताको विषय बनेको छ।














