बैंग्लोर र गुजरातको बहुप्रतीक्षित भिडन्त

काठमाडौं। अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा आइतबार आईपीएल २०२६ को फाइनल खेल हुँदैछ।
डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोर र गुजरात टाइटन्सबीच हुने यो बहुप्रतीक्षित भिडन्त नेपाली समयअनुसार साँझ ७:४५ बजे सुरु हुनेछ। दुवै टोली दोस्रो पटक आईपीएल उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
बैंग्लोरले गत सिजन पहिलो पटक ट्रफी उचालेको थियो भने गुजरातले २०२२ मा आफ्नो डेब्यू सिजनमै च्याम्पियन बन्न सफल भएको थियो। आईपीएल इतिहासका पछिल्ला आठ फाइनलमा क्वालिफायर–१ जित्ने टोली नै च्याम्पियन बनेको छ। सन् २०१६ यता सबै फाइनल क्वालिफायर–१ मा सहभागी टोलीबीच भएका छन्।
२०१६ मा भने सनराइजर्स हैदराबाद एलिमिनेटर जित्दै उपाधिसम्म पुगेको थियो। त्यसैगरी, आईपीएल फाइनलमा २०० भन्दा बढी रनको लक्ष्य अहिलेसम्म सफलतापूर्वक पछ्याइएको छैन। २००८ देखि २०२५ सम्म चार पटक २०० भन्दा बढी स्कोर बने पनि विपक्षी टोलीले त्यसलाई भेट्टाउन सकेको छैन।
दुवै टोलीबीच यस सिजन तीन खेल भइसकेका छन्। क्वालिफायर–१ मा बैंग्लोरले गुजरातलाई ९२ रनको फराकिलो अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो।
लिग चरणमा भने दुवैले एक–एक जित बाँडेका थिए। अप्रिल २४ मा बैंग्लोरले घरेलु मैदानमा पाँच विकेटको जित निकालेको थियो भने अप्रिल ३० मा गुजरातले आफ्नै मैदानमा चार विकेटको सफलता हात पारेको थियो।
हेड–टु–हेड रेकर्ड
आईपीएलमा हालसम्म बैंग्लोर र गुजरातबीच नौ खेल भएका छन्। तीमध्ये बैंग्लोरले पाँच खेल जित्दा गुजरातले चार खेल आफ्नो पक्षमा पारेको छ। यस आधारमा बैंग्लोर एक जितले अगाडि रहेको छ।














