चीनमाथि नेपालको विशाल जित

काठमाडौं। कुशल भुर्तेल र कुशल मल्लको आक्रामक ब्याटिङसँगै नेपालले एसियन गेम्स छनोटमा सेमिफाइनलमा आफ्नो स्थान लगभग पक्का गरेको छ।
आइतबार सम्पन्न पहिलो खेलमा नेपालले चीनलाई २२१ रनले पराजित गरेको हो। समूह ‘ए’मा रहेको नेपालले अब मलेसियासँग खेल्नेछ।
नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीनले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ९२ रन मा बनाउन सक्यो।
चीनका शेन्जियान झेङले सर्वाधिक ३१ रन बनाए। १५ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। दु जिन्हाओ १७, तियान सेनकुन १२ रनमा आउट हुँदा अन्यले ब्याटिङ गर्न सकेनन्।
नेपालका कुशल मल्लले सर्वाधिक ३ विकेट लिए। सन्दीप लामिछाने र सोमपाल कामीले समान २ विकेट लिए।
त्यसअघि सिंगापुर नेसनल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै ३१३ रन बनाएको थियो। टी–२० आईमा नेपालको यो दोस्रो उच्च रन हो।
यसअघि नेपालले १९औं एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो। नेपाल यो कीर्तिमान भेट्न एक रनले चुक्यो। नेपालका ओपनर कुशल भुर्तेलले सर्वाधिक १२९ रन बनाए।
४३ बल खेलेका उनले ५ चौका र १६ छक्का प्रहार गरे। कुशल मल्लले ४७ बलमा ८ चौका र ५ छक्कासहित अविजित ८५ रन बनाए।
रोहितकुमार पौडेलले २१ बलमा ५ चौका र ७ छक्कासहित अविजित ६९ रन बनाउँदा ओपनर आसिफ शेख ११ रनमा आउट भए।














