मोरक्कोको विश्वकप खेल्ने टोलीमा युरोपमा जन्मिएका खेलाडीको वर्चश्व

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी) का स्टार डिफेन्डर अच्राफ हाकिमी २०२६ विश्वकप खेल्ने मोरक्कोको टोलीमा परेका छन्। मंगलबार सार्वजनिक गरिएको टोलीमा २०२२ विश्वकपमा इतिहास रचेको मोरक्को टोलीका ९ खेलाडी समावेश छन्।
मार्चमा मात्र प्रशिक्षक नियुक्त भएका मोहम्मद उआहबीले युरोपमा जन्मिएका खेलाडीहरूलाई प्राथमिकता दिएका छन्। २६ सदस्यीय टोलीका अधिकांश खेलाडी युरोपमै जन्मिएका हुन्।
उआहबी स्वयं बेल्जियममा जन्मिएका थिए भने हाकिमी र रियल मड्रिडका फरवार्ड ब्राहिम डियाज स्पेनमा जन्मिएका ५ खेलाडीमध्ये पर्दछन्। पारिवारिक सम्बन्धका आधारमा उनीहरू मोरक्कोबाट खेल्न योग्य बनेका हुन्।
फुलहमका डिफेन्डर इस्सा डियोप, पीएसभी आइन्डहोभेनका डिफेन्डर अनास सलाह–एद्दिन र १८ वर्षीय लिलका मिडफिल्डर अयुब बुआद्दीले पछिल्लो ९ महिनाभित्र फिफाबाट राष्ट्रियता परिवर्तनको अनुमति पाएका थिए। डियाजले भने स्पेनबाट खेलिसकेपछि २०२४ देखि मोरक्कोको प्रतिनिधित्व गर्न थालेका हुन्।
मोरक्कोले जुन १३ मा इस्ट रदरफोर्डमा ब्राजिलविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। टोली न्यु जर्सीमा बस्नेछ। त्यसपछि उसले म्यासाचुसेट्समा स्कटल्यान्डसँग खेल्नेछ भने समूह ‘सी’ अन्तर्गत अन्तिम खेल जुन २४ मा एटलान्टामा हाइटीविरुद्ध खेल्नेछ। समूहका शीर्ष दुई टोली सिधै अन्तिम १६ मा पुग्नेछन् भने तेस्रो स्थानको टोलीले पनि अवसर पाउन सक्छ।
२०२२ को कतार विश्वकपमा वालिद रेग्रागुईको प्रशिक्षणमा मोरक्को अफ्रिकाबाट पहिलो पटक सेमिफाइनल पुग्ने टोली बनेको थियो। मोरक्कोले समूह चरणमा क्रोएसिया र बेल्जियमलाई पछि पार्दै शीर्ष स्थान हासिल गरेको थियो। त्यसपछि नकआउट चरणमा स्पेन र पोर्चुगललाई हराउँदै सनसनी मच्चाएको थियो। सेमिफाइनलमा चोटग्रस्त टोली फ्रान्ससँग पराजित भएको थियो।
कतार विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्षीय गोलकिपर यासिन बुनु आफ्नो तेस्रो विश्वकप खेल्ने तयारीमा छन्। मोरक्को हाल अफ्रिकी च्याम्पियनको हैसियतमा विश्वकप खेल्न जाँदैछ। यद्यपि, जनवरीमा मैदानमा जितेको उपाधि सेनेगलले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्टमा चुनौती दिएकाले उक्त उपाधि गुम्ने सम्भावना पनि रहेको छ।
चार महिनाअघि सेनेगलसँग फाइनल हारेपछि रेग्रागुईले पद छाडेका थिए। त्यसपछि उआहबी प्रशिक्षक बनेका हुन्। उनले गत वर्ष मोरक्कोलाई यू–२० विश्वकप उपाधि दिलाएका थिए। अर्जेन्टिनालाई फाइनलमा हराएको उक्त टोलीका स्ट्रासबर्गका फरवार्ड गेस्सिम यासिनलाई पनि उनले सिनियर टोलीमा समावेश गरेका छन्।
मोरक्कोले २०३० विश्वकप स्पेन, पोर्चुगल, अर्जेन्टिना, पाराग्वे र उरुग्वेसँग मिलेर सह–आयोजना गर्नेछ।
टोलीः
गोलकिपरः यासिन बुनु (अल–हिलाल), मुनिर एल काजुई (आरएस बेरकाने), अहमद रेडा ताग्नाउटी (एएस फार)।
डिफेन्डरः नुसैर माजराउई (म्यानचेस्टर युनाइटेड), अनास सलाह–एद्दिन (पीएसभी आइन्डहोभेन), युसुफ बेलामारी (अल अहली), अच्राफ हाकिमी (पेरिस सेन्ट–जर्मेन), जाकारिया एल उआहदी (गेन्क), नायफ अगुएर्द (मार्से), चादी रियाद (क्रिस्टल प्यालेस), रेडुआने हलहाल (मेचेलन), इस्सा डियोप (फुलहम)।
मिडफिल्डरः सामिर एल मुराबेत (स्ट्रासबर्ग), अयुब बुआद्दी (लिल), निल एल आयनाउई (रोमा), सोफियान अम्राबात (रियल बेटिस), अजेद्दिन उनाही (जिरोना), बिलाल एल खान्नुस (स्टुटगार्ट), इस्माइल साइबारी (पीएसभी आइन्डहोभेन)।
फरवार्डः अब्देस्सामाद एज्जाल्जौली (रियल बेटिस), चेम्सदिन ताल्बी (सुन्डरल्यान्ड), सौफियान रहिमी (अल ऐन), अयुब एल काबी (ओलम्पियाकोस), ब्राहिम डियाज (रियल म्याड्रिड), गेस्सिम यासिन (स्ट्रासबर्ग), अयुब अमाइमुनी–एचघोयाबे (आइन्ट्राख्ट फ्रान्कफर्ट)।










-1787756317261.jpeg&w=3840&q=75)



