आफ्नै बचाउमा डे ला फुएन्ते

काठमाडौं। स्पेनका राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्तेले राष्ट्रिय टोलीको प्रतिष्ठा कुनै पनि क्लबभन्दा माथि हुने बताएका छन्।
उनले मंगलबार विश्वकपका खेल्न २६ सदस्यीय टोली घोषणा गरेका थिए। टोलीमा बार्सिलोनाका ८ खेलाडी समावेश छन् भने पहिलो पटक रियल मड्रिडका कुनै पनि खेलाडी टोलीमा परेका छैनन्।
युरोपियन च्याम्पियन स्पेन आगामी महिना सुरु हुने विश्वकपको उपाधि दाबेदार टोलीमध्ये एक मानिएको छ। टोलीमा बार्सिलोनाका खेलाडीहरूको संख्या धेरै भएपछि स्पेनिस फुटबलको चर्चित ‘एल क्लासिको’ प्रतिद्वन्द्विता राष्ट्रिय टोलीसम्म पुगेको चर्चा भइरहेको छ।
डिन हुइसेन र डानी कार्भाखालजस्ता रियलका चर्चित खेलाडी टोलीमा परेका छैनन्। सन् २०१० मा दक्षिण अफ्रिकामा विश्वकप जितेको स्पेन अहिले दोस्रो विश्वकप उपाधिको खोजीमा छ। रियल समर्थकबाट आलोचना हुन सक्ने विषयमा बोल्दै फुएन्तेले भने, ‘मेरो लागि संसारकै सबैभन्दा ठूलो टोली भनेको स्पेनको राष्ट्रिय टोली हो। म खेलाडी कुन क्लबबाट आएको हो भन्ने आधारमा निर्णय गर्दिनँ। देशका लागि गर्वका साथ खेल्ने खेलाडी नै मेरो प्राथमिकता हुन्।’
स्पेनको टोलीमा जोआन गार्सिया, पाउ कुबार्सी, एरिक गार्सिया, गाभी, पेड्री, डानी ओल्मो, लामिन यमल र फेरान टोरेसजस्ता बार्सिलोनाका खेलाडी समावेश छन्। साथै सात खेलाडी इङ्लिस प्रिमियर लिगमा खेलिरहेका छन्।
डे ला फुएन्तेले टोली छनोट पूर्ण रूपमा खेल प्रदर्शनका आधारमा गरिएको बताए। उनले भने, ‘यदि मैले गलत निर्णय लिएँ वा नतिजाका लागि अनुचित कदम चालें भने मेरो जागिर नै जोखिममा पर्छ।’ स्पेनले समूह ‘एच’ अन्तर्गत पहिलो खेल केप भर्डेविरुद्ध खेल्नेछ। त्यसपछि टोलीले साउदी अरेबिया र उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ।
यद्यपि, प्रशिक्षकले यमल, निको विलियम्स र मिकेल मेरिनोको फिटनेस अवस्थाबारे सावधानी अपनाउने संकेत दिएका छन्। ती खेलाडी हाल चोटबाट पुनः फिट हुने क्रममा छन्। ‘हामी सबै क्लबहरूसँग निरन्तर सम्पर्कमा छौं। खेलाडीहरूको अवस्था राम्रो छ र उनीहरूको पुनःस्थापना सकारात्मक रूपमा अघि बढिरहेको छ। उनीहरू पहिलो खेलसम्म उपलब्ध हुन्छन् भन्नेमा म विश्वस्त छु, ,’ फुएन्तेले भने।
उनले विश्वकप लामो प्रतियोगिता भएकाले हतार नगर्ने पनि बताए। ‘यदि जोखिम लिनैपर्ने अवस्था आयो भने विश्वकपमा जोखिम लिन सकिन्छ। तर, हाम्रो सोच पहिलो खेलमा मात्र सीमित छैन। आवश्यक परे हामी केही समय पर्खिन पनि तयार छौं,’ उनले भने।
१८ वर्षीय स्टार खेलाडी यमलबारे बोल्दै उनले भने, ‘यमल निकै उत्साहित छन् र खेल्न आतुर छन्। उनी उमेरमा युवा भए पनि अत्यन्त परिपक्व छन् र यो नै आफ्नो समय भएको बुझ्छन्। अवसरलाई समात्नुपर्छ भन्ने कुरा उनलाई राम्ररी थाहा छ।’










-1787756317261.jpeg&w=3840&q=75)



