राखेपले क्यानका प्रवक्ता लामालाई फिर्ता बोलायो
मंगलबार, १२ जेठ २०८३खेलपाटी संवाददाता

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल क्रिकेट संघ (क्यान) मा आफ्नो तर्फबाट मनोनयन गरिएका प्रतिनिधि सदस्य छुम्बी लामालाई फिर्ता बोलाएको छ।
लामा क्यानका प्रवक्ता हुन्। उनलाई २९ चैत २०८० मा क्यानको पदेन सदस्यमा पदमा मनोनयन गरी पठाएको थियो। तर, क्यानको विधान २०५५ चौथो संशोधन २०८० सहितको परिच्छेद २ को दफा ३ उपदफा (४) को व्यवस्था अनुसार नै उनलाई सोमबार फिर्ता बोलाउने निर्णय भएको थियो।
राखेप संघ संस्था समन्वय शाखा प्रमुख चन्द राईका अनुसार उनलाई १९ जेठदेखि लागू हुने गरी फिर्ता बोलाइएको हो।
राखेपले यसबारे शिक्षा तथा खेलकुद मन्त्रालय, राखेप सचिवालय, खेलकुद विकास विभाग तथा क्यानलाई समेत जानकारी गराएको छ।














