विश्वकपअघि नै समस्यामा मेसी

काठमाडौं। विश्वकप सुरु हुन तीन साताभन्दा कम समय बाँकी रहँदा अर्जेन्टिनी स्टार लिओनल मेसी बायाँ ह्यामस्ट्रिङको मांसपेशी थकानबाट प्रभावित भएका छन्। इन्टर मियामीले सोमबार जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको हो।
३८ वर्षीय मेसी आइतबार फिलाडेल्फिया युनियनविरुद्धको मेजर लिग सकर (एमएलएस) खेलको ७३औँ मिनेटमा मैदान छाड्न बाध्य भएका थिए। इन्टर मियामीले ६–४ ले जितेको उक्त खेलमा फ्रिकिक प्रहार गरेपछि उनले तिघ्राको पछाडिको भाग समातेका थिए।
सोमबार गरिएको थप स्वास्थ्य परीक्षणपछि मेसीको बायाँ ह्यामस्ट्रिङमा मांसपेशी थकानसँग सम्बन्धित समस्या देखिएको क्लबले जनाएको छ। उनको मैदान फर्किने समय स्वास्थ्य अवस्थाको प्रगतिमा निर्भर रहने बताइएको छ।
इन्टर मियामीका प्रशिक्षक गुइलेर्मो होयोसले खेलपछि मेसीको अवस्था गम्भीर नभएको संकेत दिएका थिए। उनका अनुसार भारी मैदानमा खेलेकाले मेस्सी थाकेका देखिएका थिए।
अब एमएलएस विश्वकप अवधिभर स्थगित हुनेछ। अमेरिका, क्यानडा र मेक्सिकोको संयुक्त आयोजनामा हुने विश्वकप जुन ११ देखि जुलाई १९ सम्म सञ्चालन हुनेछ।
अर्जेन्टिनाका प्रशिक्षक लिओनल स्कालोनीले यसअघि सार्वजनिक गरेको प्रारम्भिक ५५ सदस्यीय टोलीमा आठ पटकका बालोन डी’ओर विजेता मेसीलाई समावेश गरिसकेका छन्। साबिक विजेता अर्जेन्टिनाले जुन १६ मा क्यान्सस सिटीमा अल्जेरियाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।
मेसीले २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई तेस्रो विश्वकप उपाधि दिलाएका थिए। आगामी विश्वकप उनको करिअरको छैटौं विश्वकप बन्न सक्ने अपेक्षा गरिएको छ।










-1787756317261.jpeg&w=3840&q=75)



