वरीयतामा ललितको आश्चर्यजनक सुधार

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका स्पिनर ललितनारायण राजवंशीले ओडीआई बलिङ वरीयतामा एकैपल्ट १६ स्थान फड्को मारेका छन्।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा उनले आश्चर्यजनक सुधार गरेका हुन्। पछिल्ला चार खेलमा विकेटविहीन रहेका ललितले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्यान्डविरुद्धको खेलमा नेपाललाई ६ विकेटको जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए।
८ ओभर बलिङ गरेका उनले ३२ रन खर्चिएर चार विकेट लिएका थिए। उनी वरीयतामा ५३औं स्थानमा छन्।
यस्तै, सोही खेलमा ३ विकेट लिएका लेग स्पिनर सन्दीप लामिछानेले भने ६ स्थान सुधार गरेका छन्।
भारतका अक्षर पटेल र अर्शदीप सिंहलाई उछिनेका उनी ३६औं स्थानमा पुगेका छन्। दीपेन्द्र ३ स्थान सुधार गर्दै ७९औं स्थानमा पुग्दा पेसर करण केसी भने आठ स्थान खस्किएका छन्।
उनी ९६औं स्थानमा पुगेका छन्। उनका जोडि सोमपाल कामी भने शीर्ष १०० मा अटाउन सकेनन्।














