कोहली सबैभन्दा बढी कमाउने खेलाडी

काठमाडौं। रोयल च्यालेन्जर्स बैंग्लोरका स्टार ब्याटर विराट कोहली इन्डियन प्रिमियर लिग (आईपीएल) इतिहासमा सबैभन्दा धेरै कमाउने खेलाडी बनेका छन्।
फ्यानाटिक स्पोर्ट्स र हुरुन इन्डियाको हालैको प्रतिवेदनले कोहली सबैभन्दा धनी आईपीएल खेलाडीहरूको सूचीमा पहिलो स्थानमा रहेको जनाएको हो। उनले २३० करोड भारु कमाएका छन्। आईपीएल २००८ मा सुरु भएको थियो। हाल यसको १९औं सिजन चलिरहेको छ।
फ्यानाटिक स्पोर्ट्स र हुरुन इन्डियाले ५३ देशका ५०४ सहरहरूमा एक हजार ३२३ एलिट खेलाडी र ६ लिगहरूको सर्वेक्षण गरेको थियो। फ्यानाटिक स्पोर्ट्स एक टिकटिङ र आतिथ्य कम्पनी हो। उसले खेलकुदसँग सम्बन्धित यात्रा र कार्यक्रमहरू व्यवस्थापन गर्दछ।
हुरुन इन्डिया एक अनुसन्धान र मूल्याङ्कन कम्पनी हो। कोहली २००८ देखि बैंग्लोरबाट खेल्दै आएका छन्। उनले त्यसयता २३० करोड तलब कमाएका छन्। ब्रान्ड मूल्यको हिसाबले उनी लिगका सबैभन्दा ठूला स्टार पनि हुन्।
मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्मा यस सूचीमा दोस्रो स्थानमा छन्। उनको कमाई २२७.२ करोड भारु छ। यसैबीच, चेन्नई सुपर किंग्सका महेन्द्रसिंह धोनी २०० करोड तलबका साथ तेस्रो स्थानमा छन्। धोनी भारतीय क्रिकेट र आईएलको एक मुख्य व्यावसायिक आइकन बनेका छन्।














