‘कमब्याक’ गर्नै पर्ने अवस्थामा नेपाल

काठमाडौं। आईसीसी क्रिकेट विश्वकप लिग–२ मा शनिबार नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।
स्कटल्यान्डसँग पहिलो खेलमा डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिअनुसार २ रनले पराजित भएको नेपाल घरेलु मैदानमा पुनरागमन गर्ने लक्ष्यमा छ भने अमेरिका आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ।
मुख्य प्रशिक्षक स्टुअर्ट लले पहिलो खेलमा ‘लेजी ब्याटिङ’ हारको मुख्य कारण बनेको स्वीकार गर्दै अमेरिकाविरुद्ध सुधारिएको प्रदर्शन गर्ने बताएका छन्। स्कटल्यान्डसँगको खेलमा नेपाल जितनजिक पुगेर पनि दबाब सम्हाल्न नसक्दा पराजित भएको थियो। विशेषगरी मध्यक्रमका ब्याटरहरू लगातार आउट भएपछि नेपाल हार्न पुगेको थियो।
यद्यपि टोलीका लागि सकारात्मक पक्ष भने दीपेन्द्रसिंह ऐरी र गुल्सनकुमार झाको लय हो। दीपेन्द्रले लगातार प्रभावशाली प्रदर्शन गर्दै टोलीको ब्याटिङ सम्हालिरहेका छन् भने गुल्सनले स्कटल्यान्डविरुद्ध आक्रामक अर्धशतक प्रहार गर्दै नेपाललाई जितको आशा दिलाएका थिए। प्रशिक्षक स्टुअर्टका अनुसार नेपालले अनावश्यक रूपमा प्रत्येक बलमा छक्का खोज्ने प्रवृत्ति त्यागेर ‘ग्याप’मा खेल्न सके राम्रो नतिजा निकाल्न सक्छ।
नेपाल अहिले लिग–२ तालिकामा दबाबमा छ। टोलीले एकदिवसीय मान्यता जोगाउन र विश्वकप छनोटको सम्भावना कायम राख्न बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नैपर्ने अवस्था छ। घरेलु मैदानमा बाँकी खेलहरू नेपालका लागि ‘गर या मर’ सरह बनेका छन्।
अर्कोतर्फ अमेरिका भने उत्कृष्ट लयमा छ। पुबुदु दासानायकेको प्रशिक्षणमा अमेरिकी टोली पछिल्ला ६ खेलमा अपराजित रहँदै तालिकाको शीर्षस्थानमा छ। नेपालका पूर्व प्रशिक्षकसमेत रहेका दासानायके नेपालमा खेल्न सधैं चुनौतीपूर्ण हुने बताउँछन्। उनका अनुसार कीर्तिपुरको स्पिनमैत्री पिच र घरेलु समर्थकको दबाब अमेरिकाका लागि ठूलो परीक्षा हुनेछ।
अमेरिकाका केही खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) खेलेकाले यहाँको अवस्था र पिचसँग परिचित छन्। मिलिन्द कुमार, हर्मित सिंह र एन्ड्रिस गाउसजस्ता खेलाडीले नेपाली मैदानमा अनुभव बटुलिसकेका छन्, जसले अमेरिकालाई थप आत्मविश्वास दिएको छ।
हेड–टु–हेड तथ्यमा अमेरिका नेपालभन्दा अघि देखिन्छ। लिग–२ मा हालसम्म दुई टोलीबीच भएका पछिल्ला आठ भेटमध्ये अमेरिकाले ६ खेल जितेको छ। नेपालले अमेरिकामाथिको पछिल्लो जित सन् २०२३ मा जिम्बाबेको हरारेमा भएको विश्वकप छनोटमा निकालेको थियो। त्यसयता अमेरिका लगातार चार खेलमा अपराजित छ।
तर, इतिहासले नेपाललाई पनि आत्मविश्वास दिन्छ। सन् २०२० मा कीर्तिपुरमै अमेरिकालाई ३५ रनमा अलआउट गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो। त्यस खेलमा सन्दीप लामिछाने र सुशान्त भारीको घातक बलिङले नेपाललाई अविस्मरणीय सफलता दिलाएको थियो।














