त्रिविमा रन बर्सिँदा अमेरिकालाई कीर्तिमानी लक्ष्य

काठमाडौं। फिनले म्याकक्रियाथ, ब्रान्डन म्याकमुलन र म्याथ्यू क्रसको अर्धशतकसँगै स्कटल्यान्डले आईसीसी क्रिकेट विश्वकप लिग २ अमेरिकालाई ३२२ रनको कीर्तिमानी लक्ष्य दिएको छ।
४७ ओभरमा छोटाइएको खेलमा स्कटल्यान्डले ६ विकेट गुमाउँदै ३२१ रन बनाएको हो।
योसँगै कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएई र नेपालले एकै इनिङ्समा बनाएको सबैभन्दा बढी रनको कीर्तिमान भंग भएको छ।
यद्यपि, यो टोलीले युएई र नेपालभन्दा ३ ओभर कम खेल्यो।
१६ मार्च २०२३ मा युएईले नेपालविरुद्ध ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको थियो। २१ अप्रिल २०२३ मा भने नेपालले ओमानविरुद्ध ५० ओभरमा ८ विकेट गुमाउँदै ३१० रन बनाएको थियो।
स्कटल्यान्डका फिनलेले सर्वाधिक ७७ रन बनाए। १०२ बल खेलेका उनले ६ चौका र १ छक्का प्रहार गरे। म्याकमुलनले ४० बलमा ५ चौका र ३ छक्कासहित ५५ रन बनाए। यस्तै, क्रसले ३२ बलमा ८ चौका र २ छक्कासहित ५८ रनको योगदान दिए।
यीबाहेक माइकल इङ्लिस ३२, जर्ज मुन्से २० र रिची बेरिङ्टन १० रनमा आउट हुँदा मार्क वाट २५ र माइकल लीस्क २८ रनमा अविजित रहे।
अमेरिकाका सौरभ नेत्रभाल्कर र जसदीप सिंहले समान २ विकेट लिए। शुभम रञ्जने र मिलिन्द कुमारले १/१ विकेट राखे।














