इंग्ल्यान्डले गर्ला त नेपाल भ्रमण

काठमाडौं। पटक नेपाल भ्रमण गर्ने सम्भावनाबारे इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्ड (ईसीबी) ले अध्ययन सुरु गरेको छ।
सन् २०२७ देखि २०३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट चक्र (एफटीपी) अन्तर्गत छोटो टी–२० अन्तर्राष्ट्रिय शृंखला नेपालमा आयोजना गर्ने सम्भावनामा छलफल भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ।
हालका वर्षहरूमा नेपाली क्रिकेटले उल्लेखनीय प्रगति गरेको छ। गत वर्ष नेपालले यूएईमा भएको शृंखलामा वेस्ट इन्डिजलाई पराजित गर्दै पूर्ण सदस्य राष्ट्रविरुद्ध पहिलो पटक शृंखला जितेको थियो।
तर, अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्रले नेपालमा औपचारिक अन्तर्राष्ट्रिय भ्रमण गरेको छैन।
यसैबीच, आयरल्यान्डले मार्चमा नेपाल क्रिकेट संघ (क्यान) सँग पाँच वर्षे रणनीतिक साझेदारी सम्झौता गरेको घोषणा गर्दै २०२६–२७ को जाडोयाममा नेपाल भ्रमण गर्ने योजना बनाएको जनाएको थियो।
इंग्ल्यान्ड र नेपालबीच पहिलो पटक यस वर्षको आईसीसी पुरुष टी–२० विश्वकपमा भेट भएको थियो। मुम्बईको वानखेडे रंगशालामा भएको रोमाञ्चक खेलमा इंग्ल्यान्डले अन्तिम बलमा जित निकालेको थियो। उक्त खेलपछि भारतमै क्यानका सचिव तथा पूर्वकप्तान पारस खड्काले ईसीबीका अधिकारीहरूसँग भेटवार्ता गरेको जनाइएको छ।
ईसीबीले अहिले २०२७–३१ को फ्युचर टुर्स प्रोग्राम (एफटीपी) अन्तर्गत विभिन्न बोर्डहरूसँग तालिका तय गर्ने प्रक्रियामा रहेको छ।
व्यस्त अन्तर्राष्ट्रिय तालिकाका बाबजुद नेपाल भ्रमणलाई अर्को एसियाली शृंखलाअघि तयारीको रूपमा उपयोग गर्न सकिने सम्भावना रहेको बताइएको छ। दुई वा तीन खेलको टी–२० शृंखला केही दिनमै सम्पन्न गर्न सकिने भएकाले यो विकल्पलाई गम्भीर रूपमा हेरिएको छ।
नेपालका कप्तान रोहित पौडेल ले टी–२० विश्वकपका क्रममा इंग्ल्यान्ड वा अस्ट्रेलियाजस्ता राष्ट्रले नेपाल भ्रमण गरे त्यसले नेपाली क्रिकेटलाई विश्वस्तरमा चिनाउन ठूलो मद्दत पुग्ने बताएका थिए। उनले नेपालले पनि राम्रो क्रिकेट खेल्ने देश भएको सन्देश विश्व क्रिकेटमा जाने उल्लेख गरेका थिए।
इंग्ल्यान्डको २०२७ घरेलु सिजनमा अस्ट्रेलियाविरुद्ध एसेस शृंखला मुख्य आकर्षण हुनेछ भने पाकिस्तान र न्युजिल्यान्डले पनि इंग्ल्यान्ड भ्रमण गर्ने सम्भावना रहेको छ।













