एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

काठमाडौं। ओपनर आसिफ शेखको दोहोरो कीर्तिमानी शतकसँगै विभागीय टोली एपीएफले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सुखद् अन्त्य गरेको छ।
सोमबार सम्पन्न खेलमा एपीएफले मधेश प्रदेशलाई ७४ रनले पराजित गरेको हो। जितसँगै एपीएफले ९ खेलबाट ११ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्रतियोगिता सक्काएको छ। यद्यपि, ९ अंक रहेको मधेशले अन्तिम खेल नेपाल पुलिस क्लबसँग खेल्नै बाँकी छ।
एपीएफले दिएको ३९१ रनको विशाल लक्ष्य पछ्याएको मधेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३१६ रन मात्र बनाउन सक्यो।
मधेशका मोहम्मद आदिल अन्सारीले सर्वाधिक ८७ रन बनाए। ४३ बल खेलेका उनले ६ चौका र ८ छक्का प्रहार गरे। अरनिको यादव ८६, विशाल शुस्लिङ ३९, अनिलकुमार शाह २९ र मोहम्मद समीर २२ रनमा आउट हुँदा विशाल पटेल १७ रनमा अविजित रहे।
एपीएफका अभिषेक गौतमले सर्वाधिक ३ विकेट लिए। कमलसिंह ऐरीले २ विकेट लिँदा भुवन कार्की, रोहितकुमार पौडेल र युवराज खत्रीले समान एक विकेट राखे।
त्यसअघि वीरगञ्जस्थित नारायण क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ थालेको एपीएफले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३९० रन बनाएको थियो।
आसिफले सर्वाधिक २०८ रन बनाएर रिटायर्ड आउट भए। १४२ बल खेलेका उनले १५ चौका र १७ छक्का प्रहार गरे। उनको यो करिअरकै कीर्तिमानी रन हो।
कप्तान रोहितकुमार पौडेल ५५, सन्दीप जोरा ५६ र दीपक बोहरा १३ रनमा आउट हुँदा लोकेश बम २१ र कमलसिंह ऐरी १८ रनमा अविजित रहे।
मधेशका रुपेश सिंहले सर्वाधिक ३ विकेट लिए। रञ्जित कुमारले १ विकेट राखे।












