एकै इनिङ्समा ९ विकेट लिँदै लौराले बनाइन् कीर्तिमान

काठमाडौं। टी–२० आई क्रिकेटमा एकै इनिङ्समा ९ विकेट लिँदै ब्राजिलकी लौरा कार्डोसोले इतिहास रचेकी छन्।
कार्डोसोले लेसोथोविरुद्ध उत्कृष्ट बलिङ गर्दै ३ ओभरमा मात्र ४ रन खर्चेर ९ विकेट लिएकी हुन्। यो टी–२० आई क्रिकेटकै अहिलेसम्मकै उत्कृष्ट बलिङ प्रदर्शन हो। योसँगै उनी टी–२० आई क्रिकेटमा पुरुष वा महिला दुवैमा एकै इनिङ्समा ९ विकेट लिने पहिलो खेलाडी बनेकी छन्।
यसअघि यो कीर्तिमान भुटानका सोनम येशेको नाममा थियो। उनले २०२५ मा म्यानमारविरुद्ध ७ रन खर्चेर ८ विकेट लिएका थिए। महिला टी–२० आईमा भने कार्डोसोले इन्डोनेसियाकी रोहमालिया रोहमालियाको कीर्तिमान भंग गरेकी हुन्। उनले २०२४ मा मंगोलियाविरुद्धको शून्य रन खर्चिँदै ७ विकेट लिएकी थिइन्।
यसअघि ब्याटिङतर्फ ब्राजिलले २०२ रनको विशाल योगफल बनाएको थियो। जसमा रोबर्टा एभेरीले ३५ बलमा ४८ रन तथा मोनिके माचाडोले ४१ बलमा अविजित ६९ रन बनाइन्।
कार्डोसोको घातक स्पेल दोस्रो ओभरबाट सुरु भएको हो। उनले उक्त ओभरमा ह्याट्रिक विकेट लिइन्। त्यसपछि चौथो ओभरमा थप ४ विकेट लिँदै उनले कुल ७ विकेट पूरा गरिन्।
छैटौं ओभरमा थप २ विकेट लिएपछि उनले ऐतिहासिक ९ विकेट पूरा गरिन्। अन्तिम विकेट मरिआने आर्तुरले लिउकी हुन्। योसँगै लेसोथो ६.२ ओभरमा मात्र १३ रन बनाएर अलआउट भयो। ब्राजिलले उक्त खेलमा १८९ रनको विशाल जित हात पार्यो।












-1775701512962.webp&w=3840&q=75)
-1775698893190.webp&w=3840&q=75)