श्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी

काठमाडौं। करातेकी एरिका गुरुङ र टेबल टेनिस खेलाडी स्यान्टु श्रेष्ठ २०औं एनएनआइपिए स्पोर्ट्स अवार्डमा सर्वोत्कृष्ट खेलाडी बन्न सफल भएका छन्।
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघको आयोजनामा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित चन्डेश्वरी मन्दिर परिसरमा भएको अवार्डमा टेबल टेनिसका स्यान्टुले ओलम्पिकको दक्षिण एसियाली छनोट जितेका थिए। उनी नेपालबाट टेबल टेनिसबाट ओलम्पिकमा छनोट हुने पहिलो नेपाली खेलाडी बन्दै इतिहास रचेका थिए।
उनले पेरिस ओल्मपिक्समा नेपालको प्रतिनिधित्व गरेका थिए। यही सफलताको आधारमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड जिते। स्टार कराते खेलाडी एरिका वल्र्ड कराते वान युथ लिगमा ऐतिहासिक रजत पदक जितेकी थिइन्। साथै अस्ट्रेलियन ओपन करातेमा पनि ऐतिहासिक स्वर्ण जितिन्।
-1775222005726.jpeg)
करातेमा अन्तर्राष्ट्रिय पदक जित्न सिपालु ऐरिका लगातार दोस्रो वर्ष सर्वोत्कृष्ट खेलाडी सफल भइन्। ऐरिका र स्यान्टुले सर्वोत्कृष्ट खेलाडी अवार्डसँगै एक लाख रुपैयाँ प्राप्त गरेका छन्।
प्रतिभावान् पुरुषको अवार्ड तेक्वेन्दोका अभिषेक बराल र महिलाको अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जिते। अभिषेकले छैटौं कासाद एसियन तेक्वान्दो च्याम्पियनसिपमा रजत पदक जितेका थिए। उनले ८० केजीमुनि तौल समूहमा स्वर्ण जितेका हुन्।
स्वस्तिकाले आइएसएफ जिम्नासाइड समर गेम्समा स्वर्ण पदक जितेकी थिइन्। यसअघि उनले सन् २०२१ मा दुबईमा सम्पन्न एसियाली जुनियर बक्सिङमा पनि कास्य पदक पनि जितेकी थिइन्।
पारा खेलाडी सम्मानबाट एथलेटिक्सकी प्रभा आङ्गदाम्बे सम्मानित भएकी छिन्। प्रतिस्पर्धात्मक खेलमा प्रवेश गरेको एक वर्ष नपुग्दै उनले उल्लेखनीय उचाइ हासिल गरिन्। राष्ट्रिय खेलकुद परिषदद्वारा आयोजित विश्वविद्यालय खेलकुदमा १५ सय मिटर दौडपछि उनी पारा खेलतर्फ आकर्षित भएकी थिइन्।
-1775221990468.jpeg)
दुबई ग्रान्ड प्रिक्सबाट अन्तर्राष्ट्रिय डेब्यु गरेकी उनले नयाँदिल्लीमा ३.९६ मिटर जम्प गर्दै टी–४७ लङजम्पमा रजत जितिन्। जुन नेपाली पारा एथलेटिक्सकै सबैभन्दा ठूलो पदक हो। भलिबल प्रशिक्षक कुमार राईलाई गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित गरिएको छ। उनले सम्मान पत्रसहित ३५ हजार रुपैयाँ प्राप्त गरे।
एनएनआइपिए पत्रकारिता पुरस्कारबाट सिनियर फोटो पत्रकार उदिप्त सिंह क्षेत्री सम्मानित भए। उनलाई नगद ३५ हजार रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरियो। उनीसँग दुई दशक लामो खेलकुद फोटो पत्रकारिताको अनुभव रहेको छ।
त्यसअघि विभिन्न २६ खेलका खेलाडीलाई वर्ष उत्कृष्ट खेलाडी– २०८२ बाट पुरस्कृत गरिएको थियो। पुरस्कृत हुनेमा एरिका गुरुङ (कराते), मीन कार्की (फेन्सिङ), तिलक पुन (आर्चरी), मौलिक महर्जन (ट्रायथलन), एर्विन श्रेष्ठ (पौडी), सुनिरा थापा (टेनिस), रशिला महर्जन (ब्याडमिन्टन), रविना चौधरी (कबड्डी), दीक्षा मगर (जुडो), प्रीति राई (फुटबल), अच्युटकृष्ण खरेल (साइक्लिङ),, सन्तोषी श्रेष्ठ (एथलेटिक्स), अमरेशकुमार यादव (कुस्ती), अभिषेक बराल (तेक्वान्दो), स्वस्तिका तिरुवा (बक्सिङ), शिवजी सिलवाल (उसु), सुमित्रा रेग्मी (भलिबल), निकेश रखाल मगर (बास्केटबल), सद्भाव आचार्य (गल्फ), दिलीप यादव (भारोत्तोलन), रविन चेपाङ (र्याफ्टिङ एन्ड क्यानोइङ), निलिमा पाण्डे (हक्की), निशा राई (ह्यान्डबल), सुमित तमखु (जिम्न्याष्टिक), श्यान्टु श्रेष्ठ (टेबल टेनिस) र लक्ष्मी राई (स्की) रहेका छन्। उत्कृष्ट सबैले जनही १५ हजार नगद पुरस्कार पाए। यीनै २६ खेलाडी मध्येबाट सर्वोत्कृष्ट र प्रतिभाशाली खेलाडी छनोट गरिएको हो।















