सन्दीप चम्किँदा बागमतीको जित

काठमाडौं। कप्तान सन्दीप लामिछानेको कसिल बलिङसँगै बागमती प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ।
बुधबार सम्पन्न खेलमा कर्णाली प्रदेशलाई ६० रनले पराजित गरेको हो। जितसँगै ४ अंक पुर्याएको बागमती छैटौं स्थानमा उक्लिएको छ। समान ५ खेल खेलेको कर्णाली ३ अंकसहित आठौं स्थानमा छ।
बागमतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमै १२० रनमा समेटियो।
कर्णालीका निश्चल रावलले सर्वाधिक ३१ रन बनाए भने दिनेश अधिकारीले २२ रन जोडे। अन्य ब्याटरले उल्लेखनीय योगदान दिन सकेनन्।
बागमतीका कप्तान सन्दीपले घातक बलिङ गर्दै एक्लै ७ विकेट लिए। यसअघि रामजानकी बहुउद्देश्यीय रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको बागमती ३८.४ ओभरमा १८० रनमा अलआउट भएको थियो।
टोलीका विवेक मगरले ५६ रन बनाए। उनले ८० बलमा २ चौका र ४ छक्का प्रहार गरे। शीर्षक्रममा शिवम तिवारी १८, शुभ कंसाकार २०, पवन थापा २२ र इशान पाण्डे २७ रनमा आउट भए।
कर्णालीका दिवान पुनले ३ विकेट लिँदा प्रकाश जैसी, दीपेन्द्र रावत र निश्चल रावलले समान २–२ विकेट लिए।












-1775010144838.webp&w=3840&q=75)

-1775009149402.webp&w=3840&q=75)
-1775008489496.webp&w=3840&q=75)