काठमाडौं । एसियन गेम्सको तयारी र थाइल्यान्ड ओपन इन्टरनेशनल बक्सिङ च्याम्पियनसिप (किङ्स कप) मा सहभागी हुन् नेपाली बक्सिङ टोली बुधबार थाइल्याण्ड जाने भएका छन् ।
बुधबार थाइल्याण्ड जाने नेपाली बक्सिङ टोलीले बैंककमा दुई महिना विशेष प्रशिक्षण गर्नेछन् । प्रशिक्षण दौरान टिमले थाइल्यान्डमा हुने किङ्स कपमा सहभागिता जनाउने छन् । च्याम्पियनसिप जुन २८ देखि जुलाई ६ तारिखसम्म हुदैछ ।
किङ्स कपमा महिलातर्फ बिमला श्रेष्ठ ५१ केजी, संगिता सुनार ५७ केजी र पुनम रावल ६० केजीमा प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ तेज बहादुर देउवा ४९ केजी, प्रेम चौधरी ५२ केजी, बिमल रोका ५६ केजी,एक बहादुर घले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । त्यस्तै भुपेन्द्र थापाले ६४ केजी, विष्णु घलेले ६९ केजी र दिपक श्रेष्ठ ७५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्नेछ ।
टिमको मुख्य प्रशिक्षकमा प्रकाश थापामगर, सहायक प्रशिक्षकमा दिपक महर्जन र टिम व्यवस्थापकमा दिलिपा श्री अधिकारी रहेका छन् । नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव कुमार विष्ट, नेपाल बक्सिङ संघका अध्यक्ष राम अवाले, राखेप सदस्य तथा संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसी, राखेप खेलकुद विकास विभाग प्रमुख कुल बहादुर थापा, बक्सिङका भीष्म पितामह सुरेश सिंह आले लगायतले विदाई गरे ।