‘साम्बा’ले विदेशबाट उठाइन् ४३ लाख बढी रकम

काठमाडौं। नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’लाई उपचारका गर्न २४ घन्टा नपुग्दै विदेशबाट ४३ लाख बढी सहयोग रकम उठेको छ।
यो समाचार तयार पार्दासम्म स्ट्राइकर साम्बालाई विदेशबाट ५० हजार १८३ न्युजिल्यान्ड डलर (४३ लाख ४७ हजार ६५ नेपाली रुपैयाँ) प्राप्त भएको हो।
न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने क्रममासाम्बा गत पुस तेस्रो साता घाइते भएकी थिइन्। उनी ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएकी हुनन्।
उनको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको छ। सिजनका सबै खेल गुमाएकी उनलाई यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
तर, दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमार्फत एन्फाले कतारस्थित एस्पटर हस्पिटलमा उपचार गर्न जान सहयोग नगरेको भन्दै समर्थकसँग आर्थिक रकम जुटाइदिन अपिल गरेकी थिइन्।
एन्फाले सोमबार नै विज्ञप्ति निकालेर पत्रचार गरेको जनाएको थियो। तर, साम्बाले आफ्नो पोस्टपछि प्रीति राई र रेनुका नगरकोटेलगायत खेलाडीहरूको उपचार गरिएको उल्लेख गर्दै आफ्नो उपचारमा भने बेवास्ता गरिएको गुनासो गरिन्।
साम्बाले आफ्नो उपचारका लागि ८० हजार अमेरिकी डलर खर्च लाग्ने उल्लेख गरेकी छन्।










-1771901440027.webp&w=3840&q=75)
