‘एन्फाले दुई महिना झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ’

काठमाडौं। नेपाली महिला फुटबल टोलीकी खेलाडी सावित्रा भण्डारी (साम्बा)ले अखिल नेपाल फुटबल संघ (एन्फा)विरुद्ध असन्तुष्टि व्यक्त गरेकी छन्।
साम्बाले एन्फाले निकालेको विज्ञप्तिलाई पूर्ण रूपमा ‘फेक’ भएको आरोप लगाउँदै उक्त विज्ञप्ति आफूले सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेपछि हतारमा तयार पारिएको दाबी गरेकी छन्।
‘एन्फाले निकालेको विज्ञप्ति पूरा फेक हो। त्यो मेरो स्टाटस आएपछि हतारहतारमा बनाएको हो। लेटर चाहिँ बनाएको रहेछन्, तर त्यो एप्रुभलवाला होइन,’ उनले भनिन्।
न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने क्रममा स्ट्राइकर साम्बा गत पुस तेस्रो साता घाइते भएकी थिइन्। उनी ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएकी हुनन्।
उनको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको छ। सिजनका सबै खेल गुमाएकी उनलाई यो चोट निको भएर पुन: मैदानमा फर्कन कम्तीमा ९ देखि १२ महिना लाग्नेछ।
तर, दुई महिनासम्म पनि उपचार नभएपछि साम्बाले सामाजिक सञ्जालमार्फत एन्फाले कतारस्थित एस्पटर हस्पिटलमा उपचार गर्न जान सहयोग नगरेको भन्दै समर्थकसँग आर्थिक रकम जुटाइदिन अपिल गरेकी थिइन्।
एन्फाले सोमबार नै विज्ञप्ति निकालेर पत्रचार गरेको जनाएको थियो। तर, साम्बाले आफ्नो पोस्टपछि प्रीति राई र रेनुका नगरकोटेलगायत खेलाडीहरूको उपचार गरिएको उल्लेख गर्दै आफ्नो उपचारमा भने बेवास्ता गरिएको गुनासो गरिन्।
‘मैले पोस्ट गरेपछि प्रीति राई र रेनुका नगरकोटेलगायत सबैलाई उपचार गर्यौं भन्छ। साम्बाको उपचारमा पनि कुनै कसर नराख्ने पो भन्छ। लाजमर्दो कुरा हो, त्यो पनि दुई महिनासम्म झुलाएर,’ साम्बाले आक्रोश पोखिन्।
यसअघि पनि उनी सोही चोटका कारण एक वर्षपछि मैदान फर्किएकी थिइन्। २०७८ सालमा मैदान फर्कनुअघि साम्बा एन्फाको पहलमा कतार पुगेर शल्यक्रिया गराएकी थिइन्।
क्लबले पनि सहयोग गर्ने बताए पनि साम्बाले आफ्नो गम्भीर चोटका कारण फेरि कतारमा नै शल्यक्रिया गर्ने योजना रहेको बताएकी छन्।
तर, दुई महिनासम्म एन्फाले आफूलाई झुलाएको आरोप लगाउँदै अब पैसा दिन्छु भने पनि नलिने स्पष्ट पारिन्। ‘दुई महिना एन्फाले झुलायो, अब पैसा दिन्छु भने पनि लिदिनँ,’ उनले भनिन्।





-1771901440027.webp&w=3840&q=75)





-1771850031377.png&w=3840&q=75)
