क्लब फुटबल खेल्दा लागेको चोटको उपचार हामीले गर्दैनौं : एन्फा

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) ले क्लब फुटबल खेल्ने क्रममा खेलाडीलाई चोट लागेमा उपचारको जिम्मेवारी सम्बन्धित क्लबकै हुने प्रचलन रहेको स्पष्ट पारेको छ।
न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट खेल्दै आएकी नेपाली राष्ट्रिय टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले सोमबार सामाजिक सञ्जालमार्फत घुँडाको चोटको शल्यक्रिया गर्न आर्थिक सहयोग अपिल गरेकी थिइन्।
लगत्तै एन्फाले विज्ञप्तिमार्फत व्यावसायिक फुटबलमा आबद्ध खेलाडी घाइते भएमा उनीहरूको उपचार सम्बन्धित क्लबले नै गर्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको जनाएको हो।
‘व्यवसायिक क्लब फुटबलमा कुनै पनि खेलाडी घाइते भए निजको उपचारको जिम्मा क्लबकै रहने अन्तर्राष्ट्रिय प्रचलन रहेको छ। साम्बाको हकमा उहाँको क्लबले न्युजिल्यान्डको अस्पतालमा उपचारको पहल गरेको छ,’ एन्फा प्रवक्ता सुरेश शाहले निकालेको विज्ञप्तिमा भनिएको छ।
वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट खेल्दा उनले चोट बोकेकी थिइन्। पछिल्लो सात हप्तादेखि मैदान बाहिर रहेकी उनले आफ्नो घुँडाको एसीएलमा यसअघि गरिएको शल्यक्रियाबाट हालिएको ग्राफ्ट र एमसीएल दुवैमा गम्भीर समस्या देखिएको जानकारी दिएकी छन्। चिकित्सकले पुनः जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन्।
यसअघि साम्बाले यही चोटको उपचारमा कतारमा गराएकी थिइन्। त्यतिखेर एन्फाबाट पूर्ण व्यवस्थापन र सहयोग प्राप्त भएको थियो। तर, यसपटक भने वाचा अनुसार सहयोग नपाएको गुनासो गरेकी छन्।
एन्फाले भने खेलाडीको स्वास्थ्यप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै आवश्यक परेमा समन्वय र सहजीकरण गर्न तयार रहेको जनाएको छ।










-1771850031377.png&w=3840&q=75)
-1771833812248.jpeg&w=3840&q=75)
