२०३० सम्म आर्सनलमै रहने भए साका

काठमाडौं। इङ्लिस स्टार बुकायो साकाले आर्सनलसँग आफ्नो सम्झौता अवधि लम्ब्याएका छन्। आर्सनलले सम्झौताको अवधि खुलाइएको छैन।
तर, इङ्लिस सञ्चारमाध्यमका अनुसार साकाले सन् २०३० को जुनसम्म क्लबमै खेल्नेछन्। क्यारिअरको सुरुआतदेखि नै आर्सनलबाट खेल्दै आएका साका टोलीका महत्त्वपूर्ण सदस्य बनेका छन्। सन् २०१९ यता आर्सनलका लागि सबैभन्दा धेरै मिनेट खेल्ने खेलाडी पनि साका नै हुन्।
मिकेल आर्टेटा मुख्य प्रशिक्षक बनेपछि उनको प्रदर्शन अझ निखारिएको हो। मात्र आठ वर्षको उमेरमा साका आर्सनलको एकेडेमीमा आबद्ध भएका थिए। २०१८ मा पहिलोपटक क्लबको सिनियर टोलीमा स्थान बनाउन सफल भए।
आर्टेटाले सन् २०१९ मा जिम्मेवारी सम्हालेपछि साकाले छिट्टै प्रशिक्षकको विश्वास जिते। हालसम्म सबै प्रतियोगिता मिलाएर आर्सनलको जर्सीमा २९७ खेल खेल्दै उनले ७८ गोल गरेका छन्।
नयाँ सम्झौता गर्न पाउँदा साका अत्यन्तै खुसी देखिएका छन्। क्लब मिडियासँगको अन्तर्वार्तामा उनले उपाधि जित्ने आशा व्यक्त गरे। इङ्ल्यान्ड राष्ट्रिय टोलीबाट ४८ खेल खेलिसकेका उनले भने,‘मलाई धेरै राम्रो लागिरहेको छ। मेरो र मेरो परिवारका लागि यो अत्यन्त विशेष क्षण हो। यो क्लबमा आफ्नो यात्रा जारी राख्न पाउँदा म निकै खुसी छु।’
यस सिजन आर्सनल सबै उपाधि जित्ने दौडमा देखिएको छ। च्याम्पियन्स लिगमा आठै खेल जित्दै टोली नकआउट चरणमा पुगेको छ। प्रिमियर लिगमा २७ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा छ। साथै, लिग कपको फाइनलमा स्थान बनाएको आर्सनल एफए कपको पाँचौं चरणमा पनि प्रवेश गरिसकेको छ।






-1771592656087.jpeg&w=3840&q=75)
-1771557471194.webp&w=3840&q=75)



-1771589331372.jpeg&w=3840&q=75)
-1771589256915.jpeg&w=3840&q=75)

