एमबाप्पेको २ गोलसँगै पुनः शीर्ष स्थानमा फर्कियो रियल
-1769305617960.webp&w=3840&q=75)
काठमाडौं। प्रशिक्षक परिवर्तन र कमजोर प्रदर्शनका कारण समर्थकहरूको आलोचना खेपिरहेको रियल मड्रिड पुनः स्पेनिस ला लिगाको शीर्ष स्थानमा फर्किएको छ।
शनिबार भिल्लारियलको मैदानमा भएको खेलमा किलियन एमबाप्पेको दुई गोलको मद्दतले मड्रिडले २–० को जित निकाल्यो।
एमबाप्पेले दोस्रो हाफको सुरुआतमै पहिलो गोल गरे भने इन्जुरी समयमा पेनाल्टीमार्फत दोस्रो गोल थप्दै टोलीको जित सुनिश्चित गरे। यस जितसँगै मड्रिड बार्सिलोनाभन्दा दुई अंकले अघि रहेको छ। बार्सिलोनाले आइतबार घरेलु मैदानमा तालिकाको पुछारमा रहेको रियल ओभिएदोविरुद्ध जित निकाले मात्र शीर्ष स्थान फिर्ता पाउनेछ।
यो एमबाप्पेको यस सिजन ला लिगामा २० खेलमा २१औं गोल हो। उनी गोलकर्ताको सूचीमा अग्रस्थानमा छन्।
अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेको आरोप खेप्दै आएको मड्रिडले बार्सिलोनासँग अंक तालिकामा नजिकै रहेर प्रतिस्पर्धा जारी राखेको छ। दुई साताअघि स्पेनिस सुपर कपको फाइनलमा बार्सिलोनासँग पराजित भएपछि क्लबले प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त गरेको थियो।
उनको स्थानमा नियुक्त भएका आल्भारो आर्बेलोआको पहिलो खेलमै मड्रिड दोस्रो श्रेणीको टोलीसँग कोपा डेल रेबाट बाहिरिएको थियो। अचानक भएको प्रशिक्षक परिवर्तन र कमजोर खेलका कारण पछिल्ला दुई घरेलु खेलमा समर्थकहरूले विरोध प्रदर्शनसमेत गरेका थिए। यद्यपि ती खेलहरू मड्रिडले ला लिगा र च्याम्पियन्स लिगमा जितेको थियो।
गत साता बार्सिलोनाले रियल सोसिएदादसँग पराजय बेहोरेपछि मड्रिडलाई शीर्ष स्थानमा उक्लिने अवसर मिलेको हो। अहिले प्रशिक्षक आर्बेलोआको नेतृत्वमा टोलीले लगातार तीन सहज जित हात पारेको छ।
खेलपछि आर्बेलोआले एमबाप्पे र भिनिसियस जुनियरको प्रशंसा गरे। भिनिसियसको बल नियन्त्रण र आक्रमण खेलले दुवै गोलको आधार तयार भएको उनले बताए। यसै साता सान्टियागो बर्नाबेउमा भिनिसियस समर्थकको चर्को आलोचनाको शिकार बनेका थिए।








-1769135013864.webp&w=3840&q=75)





