चित्लाङमाथि आर्मीको प्रभावशाली जित

काठमाडौं। विभागीय टोली त्रिभुवन आर्मी क्लबले राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबमाथि प्रभावशाली जित निकालेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा आर्मीले चित्लाङलाई ५–१ गोल अन्तरले पराजित गर्यो। यस जितसँगै आर्मीले तीन खेलबाट ७ अंक जोडेको छ भने चित्लाङले समान खेलबाट ५ अंकमा सीमित भएको छ।
खेलको सुरुआती आठौं मिनेटमै चित्लाङले अग्रता लिने सुनौलो अवसर पाएको थियो। पेनाल्टी बक्सभित्र एरोन थापा लडाइएपछि उनले पेनाल्टीको मौका पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन्। उनको प्रहारलाई आर्मीका गोलकिपर विकास कुथुले उत्कृष्ट बचाउ गरे।
१७औं मिनेटमा आर्मीका नवयुग श्रेष्ठले पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहारलाई चित्लाङका गोलकिपर सन्तोष महतले रोक्दै टोलीलाई संकटबाट जोगाए।
खेलको २८औं मिनेटमा माथेव बाबाटुन्डे ओलानरेवाजुले शानदार गोल गर्दै चित्लाङलाई अग्रता दिलाए। तर, त्यो अग्रता लामो समय टिक्न सकेन। ३९औं मिनेटमा दिनेश हेन्जनले गोल गर्दै आर्मीलाई बराबरीमा ल्याए।
पहिलो हाफको इन्जुरी समयमा नवयुग श्रेष्ठले पेनाल्टी क्षेत्रभित्रबाट गरेको पहिलो प्रहार चित्लाङका गोलकिपरले रोके पनि रिबाउन्डमा गरिएको दोस्रो प्रहार गोलमा परिणत भयो। उक्त गोलसँगै आर्मीले पहिलो हाफ २–१ को अग्रतासहित समाप्त गर्यो।
दोस्रो हाफमा आर्मीले खेलमा पूर्ण नियन्त्रण जमायो। ६३औं मिनेटमा नवीन लामाले आकर्षक गोल गर्दै अग्रता फराकिलो बनाए। त्यसपछि ८२औं मिनेटमा दिनेश हेन्जनले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीको जित लगभग सुनिश्चित् गरे।
खेलको ८४औं मिनेटमा थप एक गोल गर्दै आर्मीले ५–१ को सहज तथा प्रभावशाली जित हात पार्यो।







-1769135013864.webp&w=3840&q=75)
-1769134497104.webp&w=3840&q=75)







